प्रथम राष्ट्रपति रामवरणसँग डेढ घन्टा: जति बाँच्छु देशकै भएर बाँच्न सकुँ

रामवरणका सुखदुख र अनुभूति

0 1,523

‘म राष्ट्रपति भइसकेको मान्छे हुँ । अब म कुनै राजनीतिक दल विशेषको भएर बोल्दिनँ । म राष्ट्रिय हितका पक्षमा बोल्नेछु तर अलि पछि बोल्छु,’

अमृत सुवेदी
पोखरा–
नेपालको प्रथम राष्ट्रपति बन्ने सौभाग्य पाएका डा. रामवरण यादवलाई न यहाँसम्म आउन गरेका दुखको सुस्केरा काढेर बस्नु छ न राजनीतिक जीवनका अप्ठेराहरुलाई सम्झेर आलापित हुनु छ ।

असजिलो गरी बितेका बाल्यकाल, दुख र संघर्षले डाक्टरी पढ्दाको समय र राजनीतिमा हाम फाल्दाको बखतले नोस्टाल्जिक त बनाउँछ तर त्यही दिन सम्झेर दुखको रहमा पौडनेवाला छैनन्, उनी । बाँकी जीवन निस्वार्थ र सबैको बनेर बाँचु भन्ने हृदयमा राखेका छन्, उनले ।

एक  बिहान राष्ट्रपति यादव पाेखरामा डेढ घन्टाजति गफिए । उनकाे सर्त थियाे राजनीति र सार्वजनिक विषयमाथि भएका कुराकानी नलेख्ने । उनी देश र सार्वजनिक विषयमा बाेलेर बाहिर अाउन चाहन्नन् । कहिले निवासकाे विषयले त कहिले अन्य विषयले उनलार्इ विवादित बनाएपछि ती सार्वजनिक विषयदेखि टाढै रहन चाहन्छन् उनी ।

‘७६ वर्षको भएँ । जति बाँच्छु सबैको भएर बाँच्न सकुँ भनेको छु,’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवले कुराकानीको मेलो बढाए । ‘म राष्ट्रपति भइसकेको मान्छे हुँ । अब म कुनै राजनीतिक दल विशेषको भएर बोल्दिनँ । म राष्ट्रिय हितका पक्षमा बोल्नेछु तर अलि पछि बोल्छु,’ उनले प्रस्ट पारे ।

यति भनिसकेर आफ्नो स्वास्थ्य स्थितिका बारेमा बताए । ‘अब म ठिक छु । अमेरिकाबाट प्रोस्टेटको ट्युमर फालेर फर्केपछि केही महिना म डिस्टर्भ भएँ । अझै पनि आराम गर्दैछु । बिहानबेलुका औषधी लिन्छु । खानपिनमा ख्याल गर्नुपर्छ,’ यादवले सुनाए, ‘३÷३ महिनामा ब्लड टेस्टका लागि पठाउनुपर्छ । जाडोपछि म अलि बढी बाहिर निस्कन्छु ।’

राष्ट्रपतिको पदावधि सकिएपछि यादव फुर्सदिला बने । तर, हाइसञ्चो भएर बस्न भने पाएनन् । प्रोस्टेटमा ट्युमर देखिएपछि उपचारका लागि भारतदेखि अमेरिकासम्म पुगे । फर्केपछि पनि धेरै दौडधुप नगर्न डाक्टरको सल्लाह छ । स्वास्थ्य पुरै ठिक भएपछि भने बढी बाहिर निस्कने उनी बताउँछन् । चुरे बचाऊ अभियानबारे जनतालाई बुझाउने गरी आफू बाहिर निस्कने उनको भनाइ छ ।

‘अब चुरे संरक्षण कार्यक्रममा म अलि बढी खटिनेछु । चुरेको अवस्था बेहाल छ । चुरे बचाउन सकेनौं भने हामीले ठूलो घाटा व्यहोर्नु पर्नेछ,’ निवर्तमान राष्ट्रपति यादवले भने, ‘चुरे संरक्षण कार्यक्रमसँगै समाजलाई जोड्ने कुरामा, डेमोक्रेसी बुझाउने कुरामा म लाग्नेछु ।’ यो बेला चाहिँ उनको दैनिकी कसरी गुज्रिरहेको छ त ? डा. यादवले बिस्तार सुनाएँ ।

रेडियोबाट देशको हालखबर सुन्दै मर्निङवाक

बिहान उठेदेखि सुत्ने बेलासम्म केके गर्ने उनी रुटिङमै चल्छन् । बिहान साँढे ४ देखि ५ बजेसम्ममा उनी उठिसक्दा रहेछन् । उठ्ने बित्तिकै पहिलो एक्सरसाइज गर्छन् अनि मनतातो पानी पाउँछन् । नित्य कर्मपछि उनी नियमित मर्निङ वाकमा निस्कन्छन् । ‘स्वास्थ्य राम्रो हुँदा ५ बजेभित्र उठिसक्छु र मर्निङवाकमा अनिवार्य निस्कन्छु,’ यादवले दैनिकीको ढोका खोले, ‘धन्न बिहानमा काठमाडौंमा त्यति धुँवाधुलो हुँदैन । अहिले काठमाडौं ठन्डी छ न्यानो लगाइएन भने फेरि चिसोले समाउँछ ।’

मर्निङ वाकमा उनले एउटा कुरा प्राय छुटाउँदैनन्, त्यो हो रेडियो । पहिले भजन सुन्छन् अनि रेडियोमा देशको हालखबर सुन्दै मर्निङ वाक गर्छन् । देशको पहिलो खबर उनले रेडियोबाटै लिँदा रहेछन् । साढे ५ देखि पौनै ७ सम्म उनको मर्निङ वाकको समय हो । फर्केर नुहाइधुवाइ गरेपछि फेरि उनलाई एक्सरसाइज गर्नुपर्छ । प्रोस्टेटको अपरेसनपछि त्यसका लागि एक्सरसाइज गर्नुपर्ने उनी बताउँछन् ।

सामाजिक सञ्जालमा रुचि छैन

उनलाई सामाजिक सञ्जालमा रुचि छैन । फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालले उनीलाई उतिसारो लोभ्याउँदैन । मर्निङवाकपछिको एक्सरसाइज सकेपछि उनको समय अध्ययनको हो ।
पत्रपत्रिकाका समाचार पढ्नु, विचार स्तभमा केहीबेर रोकिएरै आँखा लगाउनु, देशविदेशका घटनाको जानकारी लिनु उनको दिनचर्यामै पर्छ । १०÷११ बजेसम्म उनी पत्रिका पढ्नै लाग्छन् ।

महत्वपूर्ण अनलाइनका समाचार पनि उनी मगाएरै हेर्छन् । बिबिसीको समाचार सुन्नु उनको लतजस्तै हो । दही, रोटी, सागपात उनको आहार बनेको छ । माछामासु नखान डाक्टरले भनेका छन् । कहिलेकाँही साना माछाका स्वाद लिन खोज्छ जिब्रोले । साढे ११ बजेतिर उनी खाना खान्छन् र एक, डेढ घण्टा आराम गर्छन् ।

दिउँसो भेटघाटको समय

बाहिर जाने काम खासै नहुने भएपछि प्राय निवासमै हुन्छन् यादव । दिउँसोको समय प्राय भेटघाटमै बित्छ । भेट्न चाहनेहरुलाई दिउँसोकै समय दिएका हुन्छन् । कार्यक्रममा बोलाउन आउनेहरुको लाइनै लाग्छ, निवासमा तर उनी कमैमात्र कार्यक्रममा जान्छन् र जानै परे पनि छानेरमात्रै जान्छन् ।

‘विभिन्न व्यक्ति विभिन्न काम लिएर भेट्न आउनुहुन्छ । मैले फोनमै भेटघाटका लागि दिउँसो बोलाउँछु,’ यादवले भने, ‘कहाँ के उद्घाटन, कहाँ के कार्यक्रम भन्दै निम्ता लिएर धेरै जना आउनुहुन्छ । तर म सबैमा जान्नँ ।’


राष्ट्रिय गौरव, संविधान र देशलाई नै फाइदा पुग्ने खालको कार्यक्रम, सेवा भावले गरिएको कुनै कार्यक्रम हेरेर उनले कार्यक्रममा आउने÷नआउने जानकारी गराउने रहेछन् । ‘राष्ट्रपति भइसकेको मान्छेले कार्यक्रममा जाँदा विचार पुर्‍याउनुपर्छ । कुन कार्यक्रमको उद्देश्य के हो हेरेरमात्र जाने गर्छु,’ यादवले प्रस्ट्याए ।

फुर्सदको साथी किताब

किताब अध्ययन अहिले उनको फुर्सदको साथी बनेको छ । ‘यो संसारमा हामीले पढ्न बाँकी कति कुरा होलान् ? संसारमा निस्किएका उपयोगी र जान्नै पर्ने किताब पनि पढ्छु भन्दाभन्दै छुटेका छन्,’ पूर्व राष्ट्रपति यादवले भने, ‘मैले डाक्टरी पढ्दादेखि अहिलेसम्म पढेका किताबभन्दा धेरै किताब बाहिर छन् । म अहिले तिनै किताबहरु पढिरहेको छु ।’

कस्ता किताब पढिरहेका छन् त उनी ? ‘म अहिले आध्यामिक किताबदेखि विश्वका महामानवहरुको किताब पढिरहेको छु । जो पढ्नै पर्ने किताबहरु भएर पनि छुटेका थिए ।’ रामायण लगायत किताब पढिसकेको भए पनि दोहोर्‍याउन मन लाग्छ उनलाई । महाभारत केही पढे, केही टिभीमा हेरेछन् ।

अहिले भागवत गीता पनि पढिरहेका छन् । अन्य धर्मदर्शनका किताब पनि रुचिकै विषय हो उनको तर साहित्यिक किताब भने कम प्राथमिकतामा पर्ने रहेछ । ‘अब मेरो समय भनेकै ज्ञानगुनका कुरा पढ्ने, बस्नेजस्तै भएको छ,’ डा. यादवले सुनाए, ‘पढ्ने भन्ने कुरा कहिल्यै सकिँदो रहेनछ ।’

एक्लो महसुस गर्नुपरेको छैन

धेरै व्यस्त नभए पनि एक्लोपनाको महसुस गर्न भने नपरेको डा. यादव सुनाउँछन् । घरमा छोराछोरीबाटै एक्लोपना हट्ने उनले बताए । ‘एक छोरा राजनीतिमै होमिएको छ भने अर्काे छोरा अमेरिकातिर छ,’ यादवले भने, ‘छोरी मैसँग छिन् । छोराछोरीले मेरो धेरै ख्याल गर्छन् ।’

उनका जेठा छोरा डा. चन्द्रमोहन यादव दोस्रो संविधान सभाको निर्वाचनमा धनुषाबाट विजयी भएका थिए भने अहिले पनि प्रदेश सभा सदस्यको उम्मेदवार थिए । उनका कान्छा छोरा चन्द्रशेखर अमेरिका र छोरी अनीता उनकै साथमा छन् ।

छोराछोरीले पनि देश र समाजका विषयमा बुझ्ने तथा दख्खल राख्ने उनी बताउँछन् । ‘बुबा अब हजुरले राजनीति छोड्नुपर्छ । संविधानको पक्षमा, देशका पक्षमा मात्र बोल्नुपर्छ, सामाजिक काममा लाग्नुहोस् भन्छन्,’ डा. यादवले कुराकानीको बिट मारे ।

Leave A Reply

Your email address will not be published.