चिसापानी ३० प्लस नृत्यमा अब्बल

तिलमाया गुरुङ स्मृति पुरस्कार मेनकाजीलाई

0 572

 

मेराे समय डेस्क
पोखरा, ७ असोज
स्टेजमा अधबैंशे कलाकारको समूह । आआफ्ना जातीय पहिचान झल्कने पोषाक । र आफ्नै मौलिकता बोकेको सोरठी, कौह्रा झ्याउरे लगायतका रहरलाग्दा नृत्य । हलमा भरिएको दर्शकको भीड र बेलाबेला गुञ्जने गड्गडाहट ताली । दृश्य थियो, स्टार्स स्टुडियोले आइतबार पोखरामा गरेको ३० वर्षमाथिका उमेर समूहबीच नृत्य प्रतियोगिता ।

स्टुडियोले संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा समूहगत खुला लोकनृत्य प्रतियोगिता गरेको हो । प्रतियोगितामा चिसापानी टोल विकास संस्था पहिलो भएको छ । मौलिकतालाई नै नाचको मुख्य थिम मानिएको प्रतियोगितामा ३० हजार रुपैयाँ राशी रहेको पुरस्कारसहित टोल विकास संस्थाले बाजी मारेको हो ।

समूहगत रुपमा भएको लोक नृत्य प्रतियागितामा पैयूँखोला तमू समाज द्वितीय, सिङ्दी तमू समाज तृतीय भए । जीतसँगै उनीहरुले क्रमशः २० हजार रुपैयाँ र १० रुपैयाँ प्राप्त गरे । सान्त्वना भएका दूधपोखरी तमू समाज र खिलाङ तमू समाजले ५ हजार रुपैयाँका दरले प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा भूपू इन्सपेक्टर दानबहादुर गुरुङ, ध्वज गुरुङ र चन्द्रा थापा थिए ।

प्रतियोगितामा ११ समूहले भाग लिएको स्टार्स स्टुडियो कि प्रबन्ध निर्देशक जसु गुरुङले जानकारी दिइन् । कार्यक्रममा शनिबार भएको कविता तथा स्कुल स्तरीय चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा तमू धीं नेपालका अध्यक्ष कर्म गुरुङले मौलिक संस्कृति जोगाउन कार्यक्रमले ठूलो भूमिका खेलेको बताइन् । उनले भनिन्, ‘लोक संस्कृति हराइसकेको अवस्थामा पनि स्टुडियोले नयाँ र पुराना पुस्तालाई एकै स्टेजमा उभाएर राम्रो काम गरेको छ ।’ धेरै पहिचानका कुरा नाचगानबाटै देखाउन सकिने उनले दाबी गरिन् ।

‘यो सहरमा मलाई रोधी घरको याद आयो । छेल्लो फाल्ने ठाउँको याद आयो,’ उनले भनिन्, ‘आमी आफैंले पनि बिर्सिन लागिसकेको कुरा स्टुडियोले फेरि ब्युँझाइदिएको छ ।’ सहरमा आएर मान्छे निहुरिन नजानेको र निहुरिनु नै नेपालीको पहिचान भएको उनले बताइन् । उनले अरुको संस्कृति अंगालेर आफ्नो संस्कृति र मौलिकता बिर्सदैं गएकोमा दुख व्यक्त गरिन् ।

तिलमाया गुरुङ स्मृति पुरस्कार मेनकाजीलाई


नृत्य निर्देशक जशु गुरुङले आफ्नी आमाको सम्झनामा स्थापना गरेको तिलमाया गुरुङ स्मृति पुरस्कार मेनकाजी गुरुङलाई प्रदान गरिएको छ । उनलाई तमू धीं नेपालका अध्यक्ष कर्म गुरुङले सम्मान गरेकी हुन् ।

लामो समयदेखि कला क्षेत्रमा लागेको र कलाको माध्यमबाट मौलिक लोक संस्कृतिलाई जगेर्ना गर्न भूमिका खेलेकोमा सम्मान गरिएको स्टार स्टुडियोकी प्रबन्ध निर्देशक जशु गुरुङले जानकारी दिइन् । मेनकाजीलाई स्टुडियोको दोस्रो वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको हो । उनी हिमाली सांस्कृतिक परिवारका अध्यक्ष तथा सामाजिक अभियन्ता हुन् ।

पुरस्कार ग्रहणपछि गुरुङले मौलिकता तथा पहिचानको पहिलो पाठशाला नै भएकाले घरदेखि नै सबै कुरा सिक्नुपर्ने औंल्याए । ‘घरबाट सन्तानलाई संस्कृति नसिकाउँदा परम्परा हराउँदै गएको छ,’ उनले भने । अरुले के ग¥योभन्दा पनि आफूले के गरियो भन्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए ।

पुरानो पुस्ताले जानेको संस्कृति नयाँ पुस्तालाई सिकाउन पनि आफूले ३० वर्षमाथिका उमेरसमूहबीच नृत्य प्रतियोगिता गरेको स्टुडियो कि प्रबन्ध निर्देशक गुरुङले बताइन् । कार्यक्रमको सहजीकरण रोशनी गुरुङले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.