यसरी बन्दै छ पृथ्वीचोक र सिर्जनाचोकमा चोकमा आकाशे पुल

साढे ५ करोड लागत

0 38

पोखरा, ३ फागुन
ट्राफिक जामले आक्रान्त बन्ने बाटोमा हिँडिरहेको पोखराका मुख्य चोकमा आकाशे पुल हाल्ने योजना अगाडि बढेको छ । दैनिक हजारौं सवारी साधन गुड्ने पोखराका मुख्य चोकमा आकाशे पुल हालेर ट्राफिक जाम कम गर्ने योजना पोखरा महानगरपालिकाले अगाडि बढाएको हो ।

पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा महानगरले आकाशे पुल हाल्न महानगरले डिजाइन तथा स्टिमेट तयार पारेको छ । १५ महिनाभित्र काम सक्ने गरी टेन्डर आह्वानको तयारीमा महानगर छ । यसअघि फ्याई ओभर निर्माण गर्ने योजना गरेको महानगरले अर्को विकल्प खोजेको हो ।

मुख्यचोकमा ट्राफिक जामको मारमा पैदलयात्रु छन् । ज्यान नै जोखिममा राखेर बाटो काट्नु पर्ने परिस्थितिको अन्त्य गर्न महानगरले करोडौं रुपैयाँ खर्चेर आकाशे पुलको अवधारणा अगाडि बढाएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

महानगरपालिकाले टेन्डर प्रक्रियामा जानु पहिले त्यसको लागत स्टिमेट, डिजाइन र निर्माणबारे सार्वजनिक गरेको छ । महानगरका डिभिजन इन्जिनियर सोभियत खड्काका अनुसार सिर्जनाचोकमा बन्ने पुलको टेन्टर गरेर केही दिनमै काम सुरु हुने छ । पृथ्वीचोकमा बन्ने आकाशे पुलको अध्ययन र लागत स्टिमिट भइरहेको इन्जिनियर खड्काले जानकारी दिए ।

डिजाइनअनुसार पुलका विभिन्न भागको निर्माण सकेर चोकमा फिटिङ गर्ने योजना महानगरको छ । ‘निर्माणस्थलमै सबै काम गर्दा लामो समय ट्राफिक जाम हुने भएकाले विकल्प खोजिएको हो,’ इन्जिनियर खड्काले भने, ‘पुलका विभिन्न भागको निर्माण गरेर लैजाँदा लामो समय आवागमत रोकिँदैन ।’


सिर्जनाचोकमा पुल बनाउन साढे २ करोड रुपैयाँको स्टिमेट गरिएको छ भने पृथ्वीचोकमा ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आर्थिक वर्षको बजेटमात्रै पुल निर्माण सम्पन्न गर्न कठिन हुने भएकाले अर्को आर्थिक वर्षमा थप रकमको व्यवस्था मिलाएर १५ महिनाभित्रै काम सक्ने मेयर जिसीको भनाइ छ ।

‘आकाशे पुल पोखराको आवश्यकता हो । पोखरालाई सम्भ र व्यवस्थित गराउन पनि पुल निर्माण गर्न लागिएको हो,’ मेयर जिसीले भने, ‘अर्को आर्थिक वर्षको बजेटले समेत समेटेर १५ महिनाभित्र काम सक्ने गरी अगाडि बढ्छौं ।’

कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सांसद एवं हालका पर्यटन, संस्कृति एवं नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले सिर्जना चोकमा बन्ने अकासे पुलका लागि संसद पूर्वाधार विकास बजेटमार्फत ५० लाख विनियोजन गरेका छन् । ‘पूर्वाधार विकासबाट आउने ५० लाख रुपैयाँमा थप महानगरपालिकाले हाल्ने छ,’ मेयर जिसीले भने ।

चालु आर्थिक वर्ष २०७५÷०७६ मा ओभरहेड पुल, सब–वे अध्ययन डिजाइन र निर्माण शीर्षकमा महानगरको पूर्वाधार विकास कार्यक्रममा १ करोड रुपैयाँ छुट्याएको छ । वि.सं. २०६६ सालदेखि पोखरामा आकाशे पुल निर्माण गर्ने प्रत्येक नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्दै आएको थियो ।

सवारी चापले पैदलयात्रुलाई बाटो काट्न र आउजाउ गर्न सकस थियो । यातायात व्यवस्था कार्यालय पोखरामा मात्रै झन्डै २ लाख सवारी साधन दर्ता भइसकेका छन् ।

पोखराको ट्राफिक व्यवस्थापन सुधार्न महानगरले १० चोकमा ट्राफिक लाइट हाल्ने योजना पनि अगाडि बढाएको छ । सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाको समन्वयमा ट्राफिक लाइड जडान गर्न सर्भे पनि भइसकेको छ ।

सडक डिभिजन कार्यालयले, अमरसिंह, पृथ्वीचोक, जिरो किलोमिटर, बिरौटा चोक र सिर्जना चोकमा २४ सै घन्टा ट्राफिक लाइट राख्ने गरी सर्भे भएको छ भने महानगरपालिकाले चिप्लेढुंगा चोक, महेन्द्रपुल, सभागृह चोक, राष्ट्रबैंक चोक र हलनचोकमा ट्राफिक लाइट जडान गर्ने योजनासहित सर्भे अगाडि बढाएको मेयर मानबहादुर जिसीले जानकारी दिए । सर्भेपछि डिपिआरसहित रिर्पोट आउने र त्यसपछि ट्राफिक लाइट जडानको काम अघि बढ्ने छ ।

Leave A Reply

Your email address will not be published.