सात सय कोल्मा बहाकोट जागेको क्षण, आँट र साथले सफलता मिल्दोरहेछ

सात सय कोल्माले जोडेको गाउँलाई जगाउने प्रयास

0 475

 

लालबहादुर गुरुङ (एलबिजेट) -सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड प्रतियोगिताका परिकल्पनाकार

७ सय कोल्मा र ४ थुम मिलेर बनेको कोल्मा बहाकोट हुन त खास स्याङ्जाकै एक रमणिय ठाउँ हो । तर, अहिले यो कोल्मा बहाकोट स्याङ्जामा मात्रै भेटिँदैन् । अलिकति कोल्मा बहाकोट, हङकोट युकेतिर भेटिन्छ, अलिकति अस्ट्रेलिया, जापानतिर भेटिन्छ । अलिकति कोल्मा भारतीय भूमिका भेटिन्छ । त्यहाँ पनि नभेटिएको बाँकी कोल्मा बहाकोट पोखरातिर पक्कै भेटिन्छ । यसरी देश–विदेशमा भेटिने कोल्मा स्वयं कोल्मा बहाकोटमा भेटिँदैन ।

केही रहर र बाध्यताले गाउँबाट हराउँदै गएको कोल्मा र बहाकोट आफू भने रित्तिँदै गयो । जुन एउटा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिएको कोल्मा बहाकोट अब पहिलेजस्तो रहेन । कतिपय यहाँबाट परदेशिएकाले कोल्मा बिर्सिए । कति नयाँ पुस्ताले कोल्मालाई चिन्नै पाएनन् । अहिले बाँझिँदै गएको यहाँको मलिलो माटो नयाँ पुस्ताले छुनै पाएनन् । यहाँको ४ थुम र ७ सय कोल्मामा हुने खेलकुदको केन्द्र देख्नै पाएनन् । यहाँको रोधी, भजन, चुट्का र घाटुको मजा लिनै नपाएपछि आफैं आफ्नो संस्कृतिबाट बेखबर हुन प¥यो ।

अनि दिल दुख्यो । कसरी सात सय कोल्माले जोडेको गाउँलाई पुरानै अवस्थामा फर्काउने र उसैगरी यहाँको माटोलाई हराभरा बनाउने, मनमा कुरा खेल्न थाल्यो । सायद अरुको मनमा पनि यस्तै कुरा खेल्यो, अनि जन्मियो, क्रस कन्ट्री दौड प्रतियोगिताको सपना । यो सपना मेरोमात्रै बनेन, ७ सत कोल्माका केही गर्नुपर्छ, आफ्नै गाउँलाई यसरी बिरानो हुन दिनु हुँदैन भन्नेहरुको साथ मिल्यो र आज हामीले क्रस कन्ट्रीको सपनालाई बिपनामा बदल्न सक्यौं ।

यो कार्यक्रम सफल पार्नुमा थुप्रै जनाको हात र साथ छ । देशविदेशमा रहेका नेपाली र सात सय कोल्मा बहाकोटसँग जोडिएका गाउँके सहयोग नभएको भए यो कार्यक्रम सफल हुनै पाउँदैन्थ्यो । यो कार्यक्रमले गाउँलाई फेरि एक चोटी जगाएको छ । परदेशिएकाहरुको ध्यान सात सय कोल्मा बहाकोटतिर तानिएको छ । राजनीति र स्वार्थको दाउभन्दा अलि पर रहेर गाउँलाई उठाउनका लागि गरिएको यो सत्प्रयास थियो । कतिले यसलाई राजनीतिक रङ दिने प्रयास नगरेका पनि होइनन् । तर, हामी विशुद्ध गैरराजनीतिक र निश्वार्थ बनाउने प्रयत्न ग¥यौं र सफल पनि भयौं ।

सुरुमा यो कार्यक्रमको परिकल्पना गर्दै गर्दा धेरै जनालाई विश्वास थिएन । कार्यक्रम सफल हुन्छ भन्नेमा केहीलाई सन्देश पनि थियो । तर, आँटे पुग्छ भने झैं हामीले आँट्यौ र सबैको साथ तथा सहयोगले कार्यक्रम भव्य भयो । बेलायतमा हुँदा देखि नै गाउँमा केही गर्न पाए हुन्थ्यो भनेर मेरो पेट पोलिरहन्थ्यो । यही कार्यक्रमका लागि भने ६ महिना नेपाल बसें । बिदाको समय थप्दै क्रस कन्ट्री सपना पूरा गर्नका लागि होमिएँ । मसँगै कोल्म बहाकोट छातिमा राखेर हिँस्नेहरु कस्सिए र कार्यक्रमलाई सफलताका साथ सम्पन्न गरियो । यो एउटा सुरुआत मात्र हो ।

कार्यक्रम सफल पार्न सिंगो गाउँ नै जाग्यो । गाउँगाउँमा स्वागत गेट बने, भव्य स्वागत भयो । अरु कार्यले माहोल ततायो । गाउँ कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा यसले योगदान पु¥याएको छ । सातसय कोल्मा बाहकोट सम्पर्क मञ्च युकेका संयोजक क्या डोलबाहदुर गुरूङले युकेबाट बिशेष सहयाेग गर्नुभयाे । मैले  नाम लिनुपर्ने थुप्रै जना हुनुहुन्छ । यहाँ सम्भव पनि नहाेला ।

यस्ता कार्यक्रमले पक्कै पनि कोल्मेलीको मनमात्रै पगाल्ने छैन, केही गर्नुपर्छ भन्ने भावनाको जग पनि बसाल्ने छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको नामबाट यो कार्यक्रम भए पनि खटिन अलि बढी पदाधिकारी खटिए पनि यो सिंगो सात सय कोल्मा बहाकोटकै कार्यक्रम हो । त्यसैले सबै जना धन्यवादको पात्र हुनुहुन्छ । तर, यही एउटा कार्यक्रम पहिलो र अन्तिम पक्कै हुने छैन, यस्ता कार्यक्रम निरन्तर भइरहने विश्वास व्यक्त गरेको छु ।


देशका मन्त्री, सांसददेखि खेलकुदका विभिन्न व्यक्तिहरु कोल्मा बहाकोट पुगेर यसको परिचयलाई अझ फराकिलो बनाएका छन् । कोल्मा अब यसै निदाएर बस्ने छैन भन्ने विश्वास साथ सबैलाई धन्यवाद दिँदै फेरि एक पटक आह्वान गर्छु, आउनुस् कोल्मबहाकोटलाई बचाइराख्न हातेमालो जारी राखौं ।

Leave A Reply

Your email address will not be published.