३ दिनमा ४ प्याराग्लाइडिङ दुर्घटना, २ को मृत्यु

सोलो प्याराग्लाइडिङ बन्द

0 29

पोखरामा मंगलबार दिउँसो सराङकोटबाट प्याराग्लाइडिङ व्यक्तिगत उडाउने क्रममा रसियन नागरिक दिमिट्रिफ स्टेप्निसको दुर्घटना भयो । दुर्घटना पश्चात तत्काल पोखराकै मेट्रो सिटी अस्पतालमा पु¥याए पनि उनको मृत्यु भइसकेको थियो ।

स्टेपिन आफ्ना छोरीसहित ७ जना साथीसहित पोखरा प्याराग्लाइडिङ उडाउन आइपुगेका थिए । उनकी छोरी पनि प्याराग्लाइडर नै थिइन् । नेपाली आकाशमा उड्न आइपुगेका उनी अब कहिल्यै स्वदेश फर्किन पाउने छैनन् ।

प्रहरीका अनुसार सराङकोट छेउ गोठादीबाट उडेका स्टेपिनसको प्याराग्लाइडिङ उड्नेक्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो । उनले फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनीबाट व्यक्तिगत (सोलो) उडानको अनुमति लिएका थिए ।

आइतबारमात्रै पनि रोमानियाका ४२ वर्षीय एडी सिस्जरको प्याराग्लाइडिङ व्यक्तिगत उडानकै क्रममा फेवातालमा खसेर मृत्यु भयो । तालमा खस्ने बित्तिकै उद्दार टोली त्यहाँ नपुगेकाले सिस्जरको मृत्यु भएको भन्ने प्रत्यक्षदर्शी बताउँछन् ।

सिस्जर प्रत्येक वर्ष नेपाली आकाशमा उड्न आइरहन्थे । पछिल्लो समयपनि उनी ८ जना साथीसहित पोखरा आएका थिए । उनले ब्लु स्काई प्याराग्लाइडिङबाट फ्रेब्रवरी २५ देखि मार्च ११ सम्म सोलो उडानको पर्मिट लिएका थिए ।

सोमबारमात्रै पनि पोखरा प्याराग्लाइडिङ उडानकै क्रममा २ वटा दुर्घटना भए । एउटा रुखमा प्याराग्लाइडिङ अड्किएको अवस्थामा सकुशल उद्दार गरिए भने अर्का बिजुलीको तारमा अल्झिएको अवस्थामा भेटिएका थिए । उनको अवस्था गम्भीर रहेको र पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लगातार सोलो प्याराग्लाइडिङ दुर्घटनापछि सोलो उडान रद्द गरिएको छ ।

Leave A Reply

Your email address will not be published.