विजयपुर पुल सात ठाउँमा भाँचियो, खोलाबाट वैकल्पिक सडक

0 36

पोखरा, २४ फागुन

विजयपुर खोलामाथिको पुल चर्किएपछि धेरै लोड बोकेको गाडीमा प्रतिबन्ध लगाइएको छ । पृथ्वी राजमार्ग हुँदै पोखरा प्रवेश गर्ने एकमात्र पुल ७ ठाउँमा चर्किएपछि १० टन भन्दा बढी भार बोकेका गाडी आवतजावतमा प्रतिबन्ध लगाइएको हो ।

पुलका बटमकड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाँचिने खतरा छ । ७४।२ मिटर लामो पुलको तत्काल मर्मत नगरे चाँडै भत्किने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

पुल कमजोर भएपछि विजयपुर खोलाबाट अर्को वैकल्पिक सडक तयार पारिएको छ । आइतबार बिहान डोजर लगाएर अर्को सडक तयार पारिएको हो । बुधबारै प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र विकास समिति सभापति दीपक कोइरालाले छुट्टाछुट्टै स्थलगत निरीक्षण गरेका थिए ।

कार्यालयले पुलमा टेको लगाएरै चर्किएका ठाउँमा मर्मत गरिरहेको छ । तत्काल स्थायी मर्मत भने गर्न नसकिने जनाएको छ । ‘आवतजावतका लागि अन्य वैकल्पिक पुल छैन । स्थायी पुल बनाउन लामो समय लाग्ने देखिन्छ,’ पोखरेलले भने, ‘हामीले अहिले कसरी छिटो हुन्छ, तत्काल अस्थायी तरिकाले बनाउने कोशिस गरिरहेका छौं ।’

२०६४ सालदेखि सञ्चालनमा आएको स्टिल ब्रिज प्रविधिमा बनाइएको पुलमा दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । बिटी इलाइट बिपी एड्भेन्चर जेभीले निर्माण गरेको पुलमा गोल्छा अर्गनाइजेसनको हुलास इन्जिनियरिङले पुल फिटिङ गरेको थियो ।

पुरानो ट्रस्टको पुल जीर्ण भएकाले त्यस्को विकल्पमा स्टिल ब्रिज बनाइएको थियो । पुरानो ट्रस्टपुलको आधाभाग अझैं त्यहीं प्रयोगविहीन छ । २०६४ सालमा पक्की पुल प्रयोगमा आएपछि उक्त ट्रस्ट पुलको आधा भाग साविक लेखनाथ नगरपालिका २ र साविक भरतपोखरी गाविस ३ जोड्ने सेती नदीको पशुपति घाटमा लगिएको थियो ।

Leave A Reply

Your email address will not be published.