नगर विकास प्रशिक्षण केन्द्र अब गण्डकी प्रशिक्षण प्रतिष्ठान

0 41

पोखरा, २४ फागुन
गण्डकी प्रदेश सरकारले प्रदेश प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ । सरकारले प्रदेशका स्थानीय तहका पदाधिकारी, कर्मचारीदेखि प्रदेशका पदाधिकारी, सांसद र कर्मचारीसम्मलाई प्रशिक्षण र विभिन्न कार्यक्रम गर्न गण्डकी प्रशिक्षण प्रतिष्ठान गठन गर्न लागेको हो ।

गण्डकी प्रदेश सभा रहेको नगर विकास प्रशिक्षण केन्द्र अब प्रदेशमातहत आएसँगै प्रतिष्ठान गठनको तयारी थालिएको कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । ‘पञ्चायत कालमा गठन भएर पछि नगर विकास प्रशिक्षण केन्द्र अब प्रदेश मातहत आउने भएको छ । यसको कानुनी बाटो खुलिसकेको छ,’ कानुनमन्त्री चुमानले भने, ‘नगर प्रशिक्षण केन्द्रमा अब गण्डकी प्रशिक्षण प्रतिष्ठान गठन गर्ने प्रक्रिया अगाडि बढेको हो ।’

पुरानो भइसकेको अहिलेको नगर विकास प्रशिक्षण केन्द्रका संरचनालाई पुनर्निर्माण र स्तारोन्नति गरेर प्रदेश प्रशिक्षण प्रतिष्ठान बनाउन लागिएको हो । यसअघि कर्मचारीलाई मात्रै तालिम प्रशिक्षण दिँदै आइएकोमा अब प्रतिष्ठान गठनसँगै स्थानीय तहदेखि मन्त्रालयसम्मका जनप्रतिनिधि तथा कर्मचारीलाई तालिमसँगै अनुसन्धानमा पनि लगाउने कानुनमन्त्री चुमानले जानकारी दिए ।

अध्ययन, अनुसन्धान र प्रशिक्षणका लागि प्राध्यापक तथा अनुसन्धानदाता नियुक्त गरेर प्रतिष्ठानले काम गर्ने उनको भनाइ थियो । प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश भएको छ । कानुनमन्त्री चुमानले प्रदेश सभा बैठकमा विधेयक प्रस्तुत गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.