पोखरा: लेकसाइड आधारातसम्म गुल्जार, अरु क्षेत्रमा ९ बजे नै डन्डा

0 41

पोखरा
लेखक गनेस पौडेल भन्छन्, ‘पोखरा भनेको संस्कृति हो, कुनै एक ठाउँ वा स्थान होइन ।’ कवि तीर्थ श्रेष्ठ कालीगण्डकीदेखि मस्र्याङ्दी बुढीगण्डकीसम्म समेटिएको संस्कृतिलाई पोखरा मान्छन् ।

भारत वा बाहिरको कुनै देशमा पुगेका लमजुङ, तनहुँ, स्याङ्जा वा पर्वत र म्याग्दीसम्मकालाई घर सोध्ने हो भने उनीहरुको छोटो उत्तर आउँछ, पोखरा । पोखरा चिनेकाहरुले पोखरा कहाँ भनेर सोधे भने बल्ल जिल्लाको नाम र ठाउँ भन्छन् । एकातर्फ फराकिलो र बृहद पोखराको बहस चलिरहेको छ भने अर्कोतर्फ पुरानो साँधसीमाना र सहरभित्रै पोखराको परिचय र अवस्था तथा त्यहाँको समस्या फरक छ ।

पोखरा बजारभित्रको कथा–व्यथा भिन्न छन् । पर्यटकीय पोखराभित्रै सरकारको नजर फरक हुँदा यहाँका व्यवसायीको चित्त दुखाइ छ । पोखरा भन्नेबित्तिकै पर्यटनसँग जोडिएर आउँछ । तर, त्यही पर्यटन क्षेत्रको महसुस र फाइदा सबैले लिन भने नपाउँदा यहाँ दुई खाले धारणा बनेका छन् । एउटा हो, लेकसाइड र अर्को त्योदेखि बाहेकको बजार क्षेत्र ।

लेकसाइड आधा रातसम्म गुल्जार हुँदा त्योदेखि बाहेक बजार क्षेत्र १० नबज्दै प्राय सुतिसक्छ । लेकसाइडबाहेक बजार क्षेत्रमा पर्यटक रोकिँदैनन्, सिधै गुल्जार लेकसाइड क्षेत्र हानिन्छन् ।

यस्तो हुनुका पछाडि सरकारककै फरक व्यवहार भएको बताउँछन्, नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन सिटी रेबानका निवर्तमान अध्यक्ष केपी शर्मा । ‘एउटै सहरभित्र दुईखाले व्यवस्था छ । लेकसाइडबाहेक अरु क्षेत्र पर्यटन क्षेत्र नै होइन भन्ने गरी प्रशासनले व्यवहार गर्छ,’ शर्मा भन्छन्, ‘पोखराको पर्यटन र त्यसबाट लाभान्वित व्यवसाय सरकारकै कारण सानो दायरामा खुम्चियो ।’

काठमाडौंबाट सडक मार्ग भएर पोखरा घुम्न आउनेहरु पृथ्वीचोक हुँदै छिर्छन् । पोखरामा हुने प्राय ठूला कार्यक्रम पृथ्वीचोक, सिर्जनाचोक, सभागृह बुद्धचोक लगायत ठाउँमै हुन्छन् । तर, पाहुनाको रोजाइ बजार क्षेत्रका होटल हुँदैनन् । पोखरामा हुने ठूला कार्यक्रमले लेकसाइड क्षेत्रका होटल भरिभराउ हुँदा अन्य बजार क्षेत्रका होटल, रेस्टुरेन्ट खाली बस्नुपर्ने अवस्था छ ।

त्यसको कारण लेकसाइड क्षेत्रमा आधा रातसम्म व्यवसाय खुला रहन पाउँछन् तर अरु बजार क्षेत्रमा १० बजेको वरिपरी नै डन्डा लाग्छ ।
त्यतिसम्म ठिकै छ तर सरकारले पर्यटन व्यवसायीका नाममा अर्को विभेद गरेको शर्माले आरोप लगाए । ‘पोखराको पर्यटन क्षेत्रको विषयमा छलफल, गोष्ठी हुँदा लेकसाइडबाहेक अन्य बजार क्षेत्रका व्यवसायीलाई बोलाइँदैन वा आवश्यक नै ठानिँदैन । सरकारले पर्यटन व्यवसायीसँग राय, सुझाव लिएको भन्छ, हाम्रा कुरा कहिल्यै समेटिँदैनन्,’ शर्माले प्रश्न गरे, ‘के हो यो पर्यटन व्यवसायी मापदण्ड ? के हामीले पर्यटनको क्षेत्रमा योगदान पु¥याएका छैनौं ? के हामी पर्यटन व्यवसायी होइनौं ?’

यसअघि पटकपटक पोखरालाई २४ सै घन्टा खुला गर्ने बहस र प्रयास भए । तर, पोखरा भनेको लेकसाइडमात्र २४ सैं घन्टा खोल्ने भनेर अभ्यास गरियो । लेकसाइड क्षेत्रजस्तै अन्य बजार क्षेत्रलाई पनि सबै याम खुला गर्ने विषयमा बहस नहुँदा रेबानका संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठको दुख मनाउ छ ।


पर्यटन व्यवसायीको मापदण्ड केहो भन्ने नै आफूहरुले नबुझेको बजार क्षेत्रका व्यवसायी बताउँछन् । लेकसाइडदेखि बाहेक क्षेत्रका पसलमा ९ बजेको आसपासमै प्रहरी लठ्ठी घुमाउँदै बन्द गराउन आइपुग्ने गुनासो आउने सिटी रेबान अध्यक्ष दीपकराज तिमिल्सिना सुनाउँछन् । पोखरामा सुरुदेखि नै व्यापार व्यवसायमा यो २ खाले नियम बसालियो ।

एकातिर रातभर उज्यालो अर्कोतिर सम्साँझै अँध्यारो । त्यसैको उपज पोखरा उस्तै प्रकृतिको दुई संस्था छन् । एउटा सिटी रेबान, अर्को रेबान । लेकसाइडबाहेकको बजार क्षेत्रका किराना र क्याफे ९ बजे आसपासमै बन्द गर्नुपर्छ ।

होटल ११ बजे र दोहोरी रेस्टुरेन्ट, गजलमा ११ बजे संगीत र पौने १२ बजे बार बन्द गर्नुपर्ने बाध्यता छ । त्यसो नभए प्रहरीबाटै सास्ती खेप्नुपरेको गुनासो व्यवसायीको छ । ११ बजेपछिमात्रै पनि पृथ्वीचोक आसपासमा आउने पर्यटकलाई भोग लागे खाने ठाउँ पाउन गाह्रो पर्छ । न सजिलै कोठ पाउँछन् न खाने पिउने रेस्टुरेन्ट । बजार क्षेत्रका होटल, रेस्टुरेन्ट र बार बेलैमा बन्द हुने भएपछि पोखरा आउनेहरु सिधै लेकसाइड हानिन्छन् ।

व्यवसायीले सरकारलाई तिर्ने करको मापदण्ड एउटै हो तर हेर्ने नजर फरक छ । ‘परिकार र आतिथ्यता पनि उस्तै पस्किरहेका छौं । हामी सानादेखि ठूलो पर्यटकसम्मलाई पनि राख्न सक्छौं,’ निर्वतमान अध्यक्ष शर्माले भने, ‘एउटै सहरभित्र हामीले धेरै सास्ती खेप्नुपरेको छ ।’

Leave A Reply

Your email address will not be published.