नेता योगेशको सन्देशः प्रधानमन्त्रीज्यू निर्मम समीक्षा गर्नुस्, प्रचण्ड पनि सच्चिनुस्

0 43

अहिलेको सरकारलाई कसैले सहानुभूति दिओस् भन्ने छुट छैन । हामीले जनताको सहानुभूति खोज्ने बेला होइन । अब जनतालाई काम दिनुपर्ने ठाउँमा आइपुगेका छौं । यो हाम्रा लागि कठिन परीक्षाको घडी हो । हामी प्रत्येक दिन परीक्षा दिइरहेका छौं । तर, कुनै दिन पास, भइएला कुनै दिन फेल भइएला ।

जब समग्र वार्षिक परीक्षा आउँछ, मलाई विश्वास छ पास हुनेछौं । जनताले जुन जनमत दिएका छन्, सायद दुनियाँमा एउटा पार्टीलाई यति ठूलो जनमत राजनीतिक प्रतिस्पर्धाबाट दिएको नेपालको हाम्रै पार्टीलाई होला ।

यस्तो बेला म प्रधानमन्त्रीलाई के भन्न चाहन्छु भने, सरकारका बारेमा, स्वयं मन्त्रीहरुको बारेमा उठिरहेका विषयहरु छन्, त्यसप्रति गम्भीर हुनुहोस् । सरकार र मन्त्रीहरुको कामप्रति गम्भीर भएर सोच्न म ध्यानाकर्षण गराउन चाहन्छु । मैले संसद र बाहिरबाट पनि यो आवाज उठाइ नै रहेको छु । हाम्रा कार्यशैली, व्यवहारमा के कमजोरी छ, नीति निर्माणमा कहाँनेर कमजोरी छ, अथवा जिम्मेवारी सम्पिदाको सन्दर्भमा कुनै व्यक्तिमाथि कमजोरी छ कि ? अब यो कुरा प्रधानमन्त्रीले सोच्नुपर्ने, केलाउनुपर्ने बेला आएको छ ।

यसलाई छुटको रुपमा, माफी मिनाहाको रुपमा जनतासँग आग्रह गर्नु हुँदैन । जनतासँग माफी माग्ने बेला होइन, काम गर्नुपर्ने बेला हो, यो । त्यसैले हाम्रा प्रधानमन्त्री यो बेला निर्मम हुनुपर्छ ।

हामी नयाँ आर्थिक वर्षको संघारमा आइसक्यौं । नीति तथा बजेट निर्माणको क्षणमा आइपुगेका छौं । त्यसैले गएको एक वर्षको निर्मम र गम्भीर समीक्षा गर्ने, सुधार्नु पर्ने ठाउँमा सुधार्ने, परिवर्तन गर्नुपर्ने ठाउँमा परिवर्तन गर्ने र जनतालाई विश्वस्त गर्नुपर्ने ठाउँमा अझ ज्यादा विश्वस्त पारेर अगाडि बढ्नुपर्ने क्षणमा आइपुगेका छौं ।

अहिले पार्टीका सक्षम व्यक्तिलाई मन्त्रीका रुपमा प्रधानमन्त्रीले जुन अवसर दिनुभएको छ, उहाँहरुबाट राम्रो परिणाम आओस् भन्ने अपेक्षा गर्छु । यदी त्यस्तो भएन भने प्रधानमन्त्रीले आफैंलाई निर्मम समीक्षा गर्ने बेला भयो भन्ने ठान्दछु । पार्टीका हिसाबले पनि राम्रोसँग चलेको छैन, सरकारका विषयमा पनि राम्रोसँग बुझाउन सकिएको छैन, आलोचना ज्यादा भइरहेका छन् ।

प्रधानमन्त्री र पार्टीको दाबी छ, हामीले राम्रो गरेका छौं । तर जनताले भनिरहेका छन् कि राम्रो भएन । यसो हो भने त हामीले बुझाउन सकेका रहेन छौं । हामीले जनतालाई बुझाउन सकेनौं भने त हाम्रा संयन्त्र फेल भए नि त । हामीले जिम्मेवारी तोकेका मान्छे असफल भए नि त । त्यसो हुँदा प्रधानमन्त्रीलाई फेरि पनि मेरो भनाइ छ, ‘हजुरले आधा रातसम्म, १–२ बजेसम्म पनि मान्छेहरुसँग भेटको मैले देखेको छु । छलफल गरि नै रहनुभएको छ । कम्तीमा ७२ घन्टा कसैलाई नभेटी एक्लै बसेर निर्मम भएर एकचोटी पछाडि फर्केर हेर्नुप¥यो । निर्मम हुनुप¥यो । निर्मम हुने बेला हो ।’

सरकारको पहिलो आधार वर्षमा गणितीय हिसाबले हेर्दा १० प्रतिशत बुझाउन नसकेको हो तर बाँकी गर्नुपर्ने काम भएको छ । आगामी वर्षका लागि प्रधानमन्त्री निर्मम भएर अगाडि लाग्नुपर्छ ।

समकालीन नेपालका दलमा नेकपा योग्य पार्टी हो । तर, पार्टी सञ्चालनको नाममा, एकतावद्ध गर्ने मामलामा सिंगो पंक्तिलाई राष्ट्र निर्माणको अभियानमा परिचालित गर्ने मामलामा, पार्टीभित्रको अन्तरविरोध हल गर्दै सुदृढ बनाउने मामलामा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यो परीक्षामा राम्रो अंकका साथ पास भएको म देख्दिन । राम्रो अंक ल्याउन सक्नुभएन ।

पार्टी एकीकरण जुन बाटोबाट गयो, त्यो नै गलत थियो । हाम्रो नेतृत्व गलत बाटो हिँड्यो । सुरुदेखि नै हामीले भनेका थियौं । पार्टी एकता भएर ४ सय ४१ जना केन्द्रीय सदस्यको कार्य विभाजन गरौं । सम्बन्धित जिल्ला–जिल्लामा पठाऔं र उहाँहरुलाई नै सम्बन्धित ठाउँको पार्टीलाई एकता गर्ने जिम्मेवारी प्रत्यायोजन गरेर पठाऔं भन्ने मत थियो । अहिले ४ सय ४१ जना केन्द्रीय सदस्य पार्टीगत हिसाबले हेर्ने हो भने बेरोजगार छन् । यति ठूलो श्रम शक्ति, नेतृत्व अन्योलमा छ, एक वर्षसम्म पनि ।

यो कसले बनायो ? अब अरुलाई दोष दिएर भयो ? यसको दोषी को हो ? पार्टी संस्थागत हिसाबले हेर्ने हो भने स्थायी समिति सदस्य भएकाले मेरो पनि दोष होला । तर, जिम्मेवारीका हिसाबले भन्ने हो पार्टीका अध्यक्षहरुको दोष हो । उहाँहरुले गलत बाटो हिँड्न खोज्नु भयो ।

अर्को कुरा उहाँलाई गलत बाटो हिँडाउन अनेक मान्छेहरुले प्रयोग गरे । किनकी यो पार्टी एक भएपछि कतिपय मान्छेहरुले भोलिको यो एकीकृत पार्टीको नेतृत्वको को हुने ? पदाधिकारी को हुने ? आफ्नो अधिकार सुरक्षित छ कि छैन भन्ने हेर्दै जाँदा कतिपय मान्छेले आफ्नो स्थान सुरक्षित देखेनन्, अन्योल भए ।

आफ्नो स्थान कस्तो बेला सुरक्षित हुने भयो भने जब अध्यक्षहरुलाई आफ्ना लागि प्रयोग गरिन्छ । आफ्ना निजी हितका लागि प्रयोग गरियो र अध्यक्षहरु भुलिनु भयो । म फेरि भन्छु, भुलिनुभयो उहाँहरु । त्यस्ता गलत मनसाय भएका मानिसहरुको प्रस्तावमा अध्यक्षहरु दिन प्रतिदिन समय ब्यतित गरिरहनुभएको छ । पार्टीलाई गलत दिशातिर लाने मानिसहरुलाई अध्यक्षहरुले पन्छाउन सक्नुभएको छैन । म फेरि पनि भन्छु अध्यक्षहरुलाई, तपाईंहरु माथि उठ्नुस्, विशाल छाति बनाउनुस् । सिंगो मुलुकलाई नेतृत्व गर्ने ऐतिहासिक जिम्मा तपाईंहरुलाई आएको छ ।

पार्टीको कुनै पनि जिल्ला कमिटीको सदस्य कसलाई बनाउने अथवा नबनाउने भन्ने कुराको गृहकार्यमा जब अध्यक्षहरुको लेबलबाट काम सुरु हुन्छ, तब उहाँहरु फस्नुभयो । उहाँहरुको काम होइन यो । उहाँहरुले कुनै अमुक जिल्लाको सदस्यको मनोनयन गर्न मिलेन भने अन्तिम फैसला दिने हो । अन्तिम फैसला दिने न्यायाधीशहरु नै झगडामा फसेपछि कसरी समस्या हल हुन्छ । म फेरि पनि भन्छु, तपाईंहरु गलत बाटो हिँडिरहनुभएको छ, यो गलब बाटो छोड्नुस् र जहाँ बिग्रिएको छ त्यहाँबाट फर्केर सही बाटो हिँड्नुहोस् ।

पार्टी एकता कहिले हुन्छ भन्ने अड्कलबाजी गर्दागर्दै हामी थाकिसक्यौं । आज पार्टीको स्थायी कमिटी, पार्टीको सचिवालय र केन्द्रीय कमिटीको हातमा पनि पार्टी एकता कहिले हुन्छ भन्ने उत्तर छैन । म निरिहताका साथ यो कुरा भनिरहेको छु । पार्टी सक्रिय छैन, पार्टीका कमिटीहरु जब क्रियाशील छैनन्, अझ भनौं पार्टी नै छैन भने त्यो सरकारलाई ब्याकअप हुँदैन । पार्टीकै अवस्था यो छ भने सरकारको जागिर खाने कर्मचारीले सिंगो राजनीतिक संस्थाको त ब्याकअप गर्दैन नि । उनीहरुले त आफ्नो समय व्यतित गर्छन् । सरकार राम्रो होस् कि नराम्रो कर्मचारीको त तलब आइराखेकै हुन्छ । उनीहरुलाई खास फरक पर्दैन । एउटा राम्रो पफर्मेन्स भयो कि भएन भन्ने आधारमा सचिव बदलिँदैन । अर्को कुनै डिपार्टमा जान्छ तर पद जाँदैन । बदलिने त पार्टी हो, कारबाही हुने त राजनीतिक नेतृत्वलाई हो, चुनावका बेला ।

अर्को वर्ष कानुन बनायौं भन्ने छुट हुँदैन

सरकारलाई दुई कोणबाट हेरौं, हेरिनुपर्छ । एउटा, सरकारले वर्ष दिनमा के गर्नुपथ्र्यो, केके ग¥यो र अर्को यो एक वर्षमा जनताका अपेक्षा केके थिए भन्ने । मूलत नेपालको संविधान जारी भएपछि यसले गरेको व्यवस्था र कानुनी संरचनाहरुको निर्माण यो एक वर्षको मूल लक्ष्य हो । संघीयता हाम्रा लागि नौलो अभ्यास हो । तीन तहको संरचना बनाउनुपर्ने थियो । त्यसका निम्ति संविधानले मात्रै हुँदैनथ्यो कानुनहरु पनि आवश्यक पथ्र्यो । एक वर्षमा यो काममा सरकारले सफलता नै प्राप्त गरेको छ । यो बीचमा नयाँ कानुन निर्माणदेखि संविधानसँग बाझिएका १ सय ५० भन्दा बढी कानुन संशोधन भए । सरकारको गर्नै पर्ने यो वर्षको काम यस अवधिमा भएको छ ।

यी कामले आम जनताको जीवनमा के परिवर्तन ल्यायो ? आज हामीमाथि उठाइएको प्रश्न यो हो । कानुन निर्माण गरेर आम मान्छेको जीवनमा के बदलाब आयो भन्ने कुरा बुझाउन नसक्नु नेकपाको र सरकारको कमजोरी भयो । सुरुदेखि नै हामीले प्रस्ट भन्नुपथ्र्यो, एक वर्षमा ठूलो उथलपुथल हुँदैन । आर्थिक हिसाबले अघिल्लो वर्षको चुनावका कारण पनि निकै संकटमा थियौं । जसका लागि ठूला आयोजनामा पर्याप्त बजेट बिनियोजन पनि हुने थिएन ।

अर्को संघीयताको कार्यान्वयनमा कर्मचारीको खटनपटन र धेरै कार्यालय स्थापित नै नभएका कारण कामको अख्तियारी पनि दिन सक्ने अवस्था थिएन । त्यसले गर्दा धेरै ठाउँमा ठेक्का नै भएन, भएका आयोजनामा पनि क्रमश काम हुन सकेन । जसका कारण यो पहिलो वर्ष सरकारले गति लिएन । अब आउने साल काम हुन्छ । पहिलो वर्षलाई हामीले आधार वर्षका रुपमा लियौं । पहिलो वर्ष गर्नुपर्ने काममध्ये ९० प्रतिशत हामी सफल छौं । अबको वर्ष कानुन बनायौं, संविधानसँग बाझिएका कानुन संशोधन ग¥यौं भन्ने कुराले छुट हुँदैन । काम गरेर देखाउनुको विकल्प छैन ।

प्रस्तुतिः अमृत सुवेदी

Leave A Reply

Your email address will not be published.