यसरी मेरी आमा मेरो आदर्शपात्र….

0 147

संगीत मगर – 

हाई स्कुलदेखि नै बिमाबारे व्यवस्थापन संकायमा पढियो । हरेक परीक्षामा ‘बिमा गर्दा अर्को एकजना इच्छाएको व्यक्ति राख्नुपर्छ’ भनेर पनि लेखें । तर अपसोस व्यवहारमा भने भुसुक्कै बिर्सिहाले छु ।

फर्म भर्दै जाँदा ‘इच्छाइएको व्यक्तिको नाम÷थर’ आउँदा पो झल्याँस्स याद आयो । कसको नाम राखूँ ? दिदीको ? भाइको ? कि बुबाको ?
सर्रर सबैको नाम सम्झें । तर लेखे आमाको नाम – ‘दलसरी रोका ।’

जब आमाको नाम लेखें । फेरि अर्को प्रश्न आयो – ‘इच्छाइएको ’व्यक्तिको माता÷पिताको नाम ।’ मावल हजुरबुबा÷हजुरआमाको नाम पनि बिर्सिएछु । स्वर्गे हुनु भएको पनि वर्षौं भइसक्यो । उहाँहरुसँग संगत गर्दा हामी सानै थियौं । बोल्दा ‘बाजु÷बुजु’ भन्थ्यौं ।
अर्थात् बाजे÷बज्यै ।

केही गर्दा पनि मावली बाजेबज्यैको नाम यदा आएन । आमालाई फोन लगाएँ । सुरुमै हजुरबुवाको नाम सोधें । र फोन राखें । फोन साइलेन्ट मै थियो । म बिमाको बाँकी काम सकेर रफ्तारमा अफिस पुगेँ । ४ घण्टाभन्दा बढी अफिसकै काममा भुलें । फोनमा ध्यान दिएन वा गएन । थाहै भएन ।

सबै काम सकिसकेपछि फोन हेरें । ४ मिस्डकल रहेछ – आमाकै ।

कलब्याक गरें । सोध्नुभो – ‘हजुरबुबाको नाम किन सोधेको ?’

‘मैले जीवन बिमा गरेको । त्यहाँ इच्छाइएको व्यक्तिको नाममा तपाईंको नाम लेखें । त्यसपछि तपाईंको बाबाको नाम लेख्नुपर्ने रहेछ,’ सहज, सरल र सत्य उत्तर दिएँ ।

आमा औपचारिक शिक्षा लिनु भएको छै । तर, यत्ति बुझ्नुहुन्छ – ‘जीवन बिमा गर्ने भनेको आफूमाथि केही दूर्घटनाको सम्भावन हुनु हो ।’
‘किन राख्नुप¥यो त्याँ मेरो नाम ?’ अचानक आमाको श्वर गह्रुंगो लाग्यो ।

‘केही पनि होइन जीवन सुरक्षित हुन्छ अनि बचत पनि हुन्छ,’ फेरि अर्को सरल र सहज उत्तर दिएँ ।

उता मौनता छायो । आमाले पक्कै मलाई केही हुँदैछ कि भनेर भएभीत हुनुभयो । कमलो हुन्छ आमाको मन । सायद रुनुभयो मैले यही महसुस गरेँ । एकछिन् केही बोलनौं । चुपचाप एकआपसका श्वासप्रश्वा सुनिरह्यौं ।

आमाले नबोलेरे फोन काटिदिनुभयो । मैले सम्झाउन पनि सकिनँ ।

मेरी आमा यस्तै हुनुहुन्छ फोनमा धेरै कुरा गर्नुहुँदैन । कहिलेकाहीं याद आउँदो हो । फोन गर्नुहुन्छ । सञ्चोविसञ्चो सोध्नुहुन्छ र फोन राखिहाल्नुहुन्छ । तर, सँगै भएको बेला गफ र ठट्टा कहिल्यै सकिँदैन उहाँको ।

सायद धेरै कुरा मनमा खेलाउनुभयो होला आमाले । धेरै कुरा सोच्नुभयो होला । पीर गर्नुभयो होला । साँझ बाबाले फोन गर्नुभयो, ‘दिउँसो आमालाई के भनिस् ?’

मैले सबै कुरा बताइदिएँ । बाबालाई थाहा थियो मैले जीवन बिमा गर्दै थिएँ ।

०००

मेरी आमा –एक आदिवासी महिला जो आम नारी भन्दा अलग हुनुहुन्छ । म ४ वर्षको हुँदा बाबा विदेश जानुभयो । बाबाको अनुपस्थितिमा हामी ३ भाइबैनालाई उहाँले नै सम्हाल्नुभयो । अहिलेजस्तो सजिलो कहाँ थियो र त्यतिबेला ? त्यसमाथि रोल्पा र जनयुद्धको चरमअवस्था । घरमा आमा एक्लै ।

हमरजिम्पो, बुर्तिबाङ, गैह्रा, सैलखोला, चाँप जताततैको खेतीपाती आमाले नै सम्हाल्नुपथ्र्यो । काँधमा हलो जुवा बोकेर बारी जोत्न जानुहुन्थ्यो । घाँस दाउराको भारीमाथि हामी पनि थपिन्थ्यौँ । कसरी बोक्नुभयो होला ? कसरी आयो होला उहाँमा त्यत्रो तागत ?
आज सम्झिन्छु – आमामा साँच्चै शक्ति हुँदो रहेछ ।

बाबाले किनिदनुभएको लुंगी । मखमलको चोलो । पुवाको सुर । हातमा सुलिचौर बजार जाँदा किनेको रबर वा प्लास्टिकका चुरा । टाउकोमा घुम्च (स्कार्फ) । कम्ममरमा पटुका । कानमा मामा र बाबाले दिनुभएको मारुली । अनि कि पिठ्युँमा भारी कि काँधमा हलो जुवा ।

०००

मलाई थाहा छैन आमाले सुनाउनु भयो कि भएन कुनै लोरी या दन्त्यकथा । तर यत्ति थाहा छ जीवन दर्शन पक्का सुनाउनु भएको छ – जानीनजानी ।

एकदिन गासे खोलामा साथीहरुले उनीहरुका आमाले सुलीचौर बजारबाट युके स्विटर ल्याइदिएको र मेरी आमाले मलाई केही नल्याइदिएको भनेर गिज्याए ।

त्यसदिन आँखाभरि आँशु टिलपिल गर्दै झुटो बोलेकी थिएँ, ‘मलाई पनि ल्याइदिनु भा’को छ निलो युके स्विटर । आलमारीमा राख्या छु । भुमे मेला जाँदामात्रै लगाउने ।’

अचम्म भयो । नभन्दै अर्को दिन आमाले निलो युके स्विटर दिनुभयो । दिदी र मलाई एउटै रङको । मैले त साथीहरुको गिज्याइबाट बच्न भनेकी थिएँ तर आमाले साँच्चै ल्याइदिनुभएको रहेछ ।

त्यो मेरालागि सबैभन्दा खुसीको क्षण थियो ।

सानो हुँदा दिदी र मलाई मेड्डी र फ्रक आमाले आफैं सिलाएर लगाइदिनुहुन्थ्यो ।

 


आमा हरेक चोटी घरबाट निस्किँदा चोक सम्म पु¥याउन आउनुहुन्छ । म बस चढेर ओझेल नपर्दासम्म हेरिराख्नुहुन्छ । म कहिले फर्किन्छु पहिले नै कुरा भइसकेको हुन्छ । तर पनि हरेक पटक सोध्नुहुन्छ ‘अब कहिले आउँछस् ?’ 

अहिले जब म मेसिन अघि लुगा सिलाउन बस्छु – उहाँ हाम्रा पुराना पहिरण सिलाउने तरिका सिकाउनुहुन्छ । केही समयअघि पुरानो मगर परम्परामाथि बन्न लागेको एउटा फिल्ममा ‘कस्टुयम डिजाइनर’को काम गर्दै थिएँ । त्यसबेला आमा र बाबाले नै मलाई सबै गाइड गर्नुभो । उहाँहरुले नै सिकाउनुभयो – रोल्पाली मगरका पुराना पहिरनबारे ।


मेरी आमा सधैं निडर हुनुहुन्छ । पुरुषहरुसँग दौड्न बाजी लगाउनुहुन्छ । काँधमा हलो जुवा बोक्नुहुन्छ ।

मेरी – आमा यो समयको सबैभन्दा कुरुप कुरितिलाई ठाडै चुनौति दिनुहुन्छ । बर्र्खायाममा खुर्सुङबाङमा ग्वाला जाँदा हाफ प्यान्ट लगाएर जानुहुन्थ्यो । रोल्पाली भूमिमा त्यो सानो क्रान्ति थिएन ।

मेरी आमा असल गुरु हुनुन्छ – ग्वाला जाँदा हामीलाीई धुलोमा क..ख.. सिकाउनुभो ।मेरी आमा – जो भान्साको क्षेत्रफलभन्दा पर भाग्न खोज्नुहुन्छ । र हामीलाई सधैं ‘दब्नुहुन्न’ दर्शन सिकाउनुुहुन्छ ।

०००

आज सहर झरेर पनि आफ्नो मौलिकता बचाइराख्नु भएको छ । हातको नाडी खाली हुन्छ जब हामी छोराछोरीले चुरा लगाइदिदैनौँ । उहाँ देखावटी मान्यताबाट टाढा हुनुन्छ ।

उहाँ सिउँदोमा बाबाको नामको सिन्दुर लाउनुहुन्न । बाबाको खुट्टा ढोग्नुहुन्न । रातरातभर भान्सा पर्खेर भोकै बस्नुहुन्न ।
त्यही पनि जब प्रेमको उदाहरण दिनुपर्छ मेरो बाबा–आमालाई नै दिन्छु ।

०००

मेरी आमाको लागि गर्न सक्ने भनेको नै उहाँले सबैभन्दा प्रेम गरेको मान्छेलाई उहाँबाट टाढा नराख्नु हो । उहाँको प्रेम अर्थात बाबा ।
यसैले त भर्खर एसएलसी दिँदै गर्दा नै बाबालाई विदेशबाट बोलाएर सधैंलाई घर फर्किन भन्यौं । हामीलाई थाहा छ – जीवनसाथी जस्तो नजिकको कुनै बेला सन्तान हुन सक्दैनन् ।

विश्वविद्यालयको पढाइले कहाँ भ्याउँछ र यथार्थभित्र पस्न । त्यो पढाइ त सुत्रमा अल्झिएकोहुन्छ । प्रश्नमा अल्झिएको हुन्छ । व्यवहारिक जिन्दगी पो महत्वपूर्ण ।

छोराछोरीले त्यही सिक्छन् जो देख्छन् । मैले धेरै कुरा सिकेको छु आमाबाट । सबैभन्दा ठूलो कुरा त प्रेम गर्न सिकेकी छु । इमान्दार रहन सिकेकी छु ।

म जान्दछु मेरी आमा पढ्नु भएको छैन । यसैले म के गर्दैछु र केका लागि भनेर सबैकुराको बारेमा उहाँलाई थाहा हुँदैन । उहाँले म माथि विश्वास गरेर स्वतन्त्रता दिनुहुन्छ ।

जान्दछु उहाँ संसार घुम्नु भएको छैन । तर जब म घर हुँदा यात्राका कथा सुनाउँछु । आफ्ना कामका अनुभव सुनाउँछु । यस्तो लाग्छ उहाँ मेरो आँखाबाट संसार हेरिरहनुभएको छ ।

यो माया यो विश्वासले नै सधैं मलाई अघि बढ्ने साहस मिल्छ ।

आमाको मुख हेर्ने दिन बिहानै फोन गरेकी थिएँ । ‘ग्वाला छु’ भन्नु भएको थियो । मलाई थाहा छ हजुरलाई कुनै दिवस याद हुँदैन । मैले आज को दिन हजुरलाई सम्झाउन पनि चाहिनँ बरु सँधै झैँ आफैमा संकल्प लिएको हुन्छु कि हजुरको म माथिको विश्वास बचाइराख्न सकूँ ।

०००

आमा हरेक चोटी घरबाट निस्किँदा चोक सम्म पु¥याउन आउनुहुन्छ । म बस चढेर ओझेल नपर्दासम्म हेरिराख्नुहुन्छ । म कहिले फर्किन्छु पहिले नै कुरा भइसकेको हुन्छ । तर पनि हरेक पटक सोध्नुहुन्छ ‘अब कहिले आउँछस् ?’ र उसैगरी हरेक पटकको फोन वार्तामा उही प्रश्न दोहोरिरहन्छ । दोहोरिरहन्छ….निरन्तर….

Leave A Reply

Your email address will not be published.