गाडी चालकसँग जाेगिनै गाह्राे, दुर्घटनामा गयाे २ सय ३३ काे ज्यान

0 17


पछिल्लो तथ्यांकले भन्छ, ‘जति पनि दुर्घटना भएका छन्, अधिकांश चालककै लापरबाहीले भएका छन् । गण्डकी प्रदेशमा मात्रै यो आर्थिक वर्षमा ४ सय १७ दुर्घटना भएका छन् । चालकको लापरबाही, ओभरटेक, मादकपदार्थ सेवन (मापसे) र गाडीमा ओभरलोड हालेर चलाउँदा अधिकांश दुर्घटना भएका छन् । २ सय ७५ दुर्घटना यिनै कारणबाट भएका छन् ।

गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख वीरेन्द्र बस्याल भन्छन्, ‘यान्त्रिक गडबडी, सडकको अवस्था, पैदलयात्रुका कारणभन्दा बढी चालककै लापरबाहीले भएका धेरै दुर्घटनाले ज्यान लिएका छन् ।’ चालकको लापरबाहीपछि यात्रुका गल्तीले बढी दुर्घटना निम्तिएका छन् । यो आर्थिक वर्षमा २८ दुर्घटना यात्रुका गल्तीका कारण भएका छन् । ‘यात्रुले गर्ने हेलचक्याइँ र असावधानीले पनि दुर्घटना निम्तिएको छ,’ बस्याल भन्छन्, ‘साक्षरता बढेका कारण गएका वर्षहरुमा भन्दा दुर्घटना भने कम हुँदै गएका छन् ।’

२१ दुर्घटनामात्र यान्त्रिक गाडीको यान्त्रिक गडबडीका कारण भएका छन् । सडकको अवस्थाका कारण ११ र मौसमका कारण जम्मा १ सवारी साधन दुर्घटनामा परेका छन् ।

यो आर्थिक वर्षमा गण्डकी प्रदेशमा भएका ४ सय १७ दुर्घटनामा ७ सय ७५ जना घाइते भए भने २ सय ३३ जनाले ज्यान गुमाए । यो तथ्यांक भने जेठ मसान्तसम्मको हो । अघिल्लो आर्थिक वर्षमा दुर्घटनाकै कारण ३ सय ३३ जनाको ज्यान गएको थियो ।


दुर्घटना र मृत्यु हुनेको संख्या भने घट्दै गएको बस्यालले बताए । नागरिक सचेत हुँदै गएका कारण र दुर्घटना हुनेबित्तिकै प्रहरी छिटो घटनास्थलमा पुगेर उद्दार गर्न सहज भएकाले दुर्घटना कम हुँदै गएको उनको दाबी छ । पहिले विशेषगरी ग्रामीण क्षेत्रमा हुने दुर्घटनामा प्रहरीलाई समयमै पुग्नै सकस गर्ने भएकाले धेरै ज्यान जाने गरेको बस्यालको भनाइ छ ।

हुँइकिने माेटरसाइकल

अहिले प्रत्येक युवाको सपना भइसक्यो, मोटरसाइकल । मोटरसाइकल अब सोखभन्दा पनि आवश्यकता बनिसकेको छ । सम्पन्न परिकारका छोराछोरीका साथमा मोटरसाइकल र गाडी दुबै हुन्छन् ।

जिकज्याक गर्दै बत्तिएर कुद्ने, ठूलो आवाज निकाल्ने मोटरसाइकल चालक प्रहरीको हैरानी नै बनिरहेको छ । सहरमा मोटरसाइकलको संख्यामात्रै बढेको छैन, यही दुर्घटनाको कारण पनि बनेको छ । सबैभन्दा बढी मानिसले चढ्ने भएकाले पनि दुर्घटना हुने धेरै दुर्घटना हुने सवारी साधन नै मोटरसाइकल हो । जेठ मसान्तसम्म २ सय ४७ मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि दुर्घटना हुनेमा बस, ट्रक, जिप छन् । १ सय १८ बस दुर्घटनामा परे भने ७४ ट्रक र सोही नै संख्यामा जिप कार दुर्घटनामा परेका छन् ।

जुनसुकै सवारी साधन दुर्घटनामा परे पनि ज्यान गुमाउनेमा भने युवा नै हुन्छन् । किनकी युवा उमेर समूहका व्यक्ति नै बढी चालक छन् । ‘दुर्घटनामा पर्ने र गराउने दुबै युवाकै संख्या बढी छ,’ प्रमुख बस्यालले भने ।

१६ देखि २५ उमेर समूहका यो वर्ष १ सय ९३ दुर्घटनामा संलग्न छन् भने २५ देखि ४० उमेरसमूहका २ सय ७८ दुर्घटनामा संलग्न रहेको तथ्यांकले देखाउँछ । ४० भन्दा माथिका उमेर समूहका व्यक्ति भने कम नै दुर्घटनका कारण बनेका छन् । ९९ दुर्घटनामा यो उमेर समूहका व्यक्ति संलग्न छन् ।

Leave A Reply

Your email address will not be published.