नारायणहिटी राजदरबार जनताका लागि खुल्याे, रत्नमन्दिर हेर्नै पाएनन् ?

0 73

तत्कालीन राजा महेन्द्र शाहको मन पर्ने ठाउँ थियो, पोखरा । महेन्द्रले पोखरा आउँदा फेवा किनारमा टहलिन र तनाबमुक्त भएर बास बस्ने ठाउँको परिकल्पना गरे । महेन्द्रको परिकल्पनाले ५ वर्षपछि २०१५ सालमा पूर्णता पायो । महेन्द्रले फेवा किनारमा बनाएको बंगलाको नाम दिए, रत्नमन्दिर ।

महेन्द्रले कटेज शैलीमा बनाएको बंगलालाई कान्छी रानी रत्नको नामबाट रत्नमन्दिर नामाकरण गरेका थिए । रत्नमन्दिरमा महेन्द्र्रका किस्साहरु वीपीले आफ्नो आत्मवृतान्तमा पनि उल्लेख गरेका छन् । महेन्द्रपछि वीरेन्द्रको मनपर्ने र प्रिय ठाउँ थियो, त्यो ।

पोखरा आउँदा राजपरिवारको बास रत्नमन्दिरमै हुन्थ्यो । वीरेन्द्रको वंशनास हुँदा ज्ञानेन्द्र शाह रत्नमन्दिरमै थिए । वीरेन्द्रको प्रिय ठाउँ रत्नमन्दिरमा ज्ञानेन्द्रले २०५८ जेठ १९ को रात बिताइरहेका थिए ।

फेवा किनारको रत्नमन्दिरमा राजाको आउ–जाउ त्यतिबेला टुट्यो, जतिबेला राज संस्थाको सम्बन्ध जनतासँग टुट्यो । ज्ञानेन्द्र नै रत्नमन्दिरमा रमाउने अन्तिम राजा बने ।


२०६२-०६३ को जनआन्दोलनपछि वीरेन्द्रको नाममा रहेको रत्नमन्दिर पनि जनताको भयो । २०६४ साल असोज २१ गतेको मन्पिरिषदको निर्णयले रत्नमन्दिरलाई ट्रष्टको नाममा ल्याउने निर्णय ग¥यो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसम्मले आराम गर्ने र रमाउने ठाउँ रत्नमन्दिरको बारेमा पोखरेलीले अनेक किस्सा सुनेका छन् । तर, राजसंस्थालाई घुँडा टेकाएर गणतन्त्र ल्याएका जनताले रत्नमन्दिर कस्तो छ ? अझै हेर्न पाएका छैनन् ।

रत्नमन्दिर र त्यसको पूर्वमा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा बनेको हिमा गृह पनि अझै जनताको पहुँचभन्दा बाहिर छ । राजसंस्थापछि बनेका प्रत्येक सरकारका पालामा रत्नमन्दिर र हिमागृह जनताका लागि खोल्ने चर्चा चल्छ । तर खुल्दैन ।

कहिले संग्राहलय बनाएर जनतालाई खुलाउने, कहिले ५ तारे होटल बनाउने त कहिले सरकारी आवास बनाउने बहस र चर्चामा हुँदै आएको छ, रत्नमन्दिर ।

रत्नमन्दिर र हिमागृह जनताका लागि खुल्ला गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउनुपर्ने पटक पटक आवाज उठ्यो । गफ लाउने माध्यम बन्यो । प्रदेश सरकार गठन भएपछि पर्यटनमन्त्री विकास लम्सालले प्रदेशले रत्नमन्दिर र हिमागृह खुलाउने बताए । जबकि त्यो प्रदेश मातहत नै छैन ।

विभिन्न समयमा नेतादेखि मन्त्रीसम्मले चर्चा कमाउने माध्यमसमेत बनेको रत्न मन्दिर र हिमागृह खुलाउने विषयमा केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाद प्रचण्डले आशा देखाएका थिए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पोखरामा भनेका थिए, ‘जोड गरेर भए पनि गर्नैपर्छ भन्ने लागेको छ अहिले । हिमा गृह र रत्नमन्दिरलाई खुला गराउनैप¥यो । खुला गराउन केही दुखै छैन, मन्त्रिपरिषदले निर्णय गरिदिने बित्तिकै भइहाल्छ ।’


रत्नमन्दिर र हिमा गृहमात्रै खुला गर्न सकियो भने पोखरामा पर्यटन आउने र कम्तिमा १ दिन आधा दिन बसाइ थपिन सके पनि धेरै नै राम्रो कुरा हुने प्रचण्डको भनाइ थियो । ‘मेरो तर्फबाट भोली प्रधानमन्त्रीलाई गरिहाल्नुस् भन्ने छु,’ प्रचण्डले विश्वस्त पारे । यसलाई यत्तिकै राखेर कुनै फाइदा नहुने कुरामा आफ्नो जोड रहेको प्रचण्डले बताएका थिए ।

राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनासँगै नारायणहिटी राजदरबार जनताका लागि खुला भयो । पोखराको रन्तमन्दिर र हिमागृह पनि अब खुला हुने पोखरेलीको आशा थियो ।

पोखराका व्यवसायीलाई प्रचण्डको आश्वासनले केही आशा जगाएको छ । २०७३ सालमै हिमागृह र रत्नमन्दिर जनताका लागि खुला गरिने बताइएको थियो । ट्रस्टले ३०७३ वैशाख ८ गतेदेखि सर्वसाधारका लागि खुला गर्ने निर्णय गर्दै मर्मत, थप पूर्वाधार निर्माण र टिकट छपाइको कामसमेत सुरु गरेको बताएको थियो ।

यसपटक प्रचण्ड आफैंले तत्काल सर्वसाधारका लागि खुला गर्ने बचन दिएपछि पोखराका व्यवसायी उत्साही छन् । उनीहरु भन्छन्, ‘थुप्रै पटक रत्नमन्दिर खुला गर्ने विषय आएको छ, सेलाएको छ । ठट्टा नहोस् यसपटक ।’

Leave A Reply

Your email address will not be published.