मिरा राई झैं डाँडडाँडै दौडिएरै सफल हुन्छु: अनिता राई

0 43

पोखरा । रहर क्षणिक हुन्छ । आउँछ, जान्छ । तर त्यही रहर जब जीवनले उद्धेश्यमा बदलिन्छ, नसोचेको बाटो हिड्छ । यस्तै भएको छ पथप्रदर्शक अनिता कुलुङ राईलाई पोखराको थ्री सिस्टर्स कम्पनीसँग आवद्ध भएर विदेशीलाई नेपालको अनुहार चिनाउँदै हिँडेको वर्षौं भइसकेको छ । उच्च हिमाली भेगका प्रत्येक उकाली र ओरालीको लेखाजोखा उनीसँग छ । ‘ट्रेकिङ गाइड भएरै अन्नपूर्ण सर्किट, उपल्लो मुस्ताङ, सगरमाथासम्म पटकपटक घुम्ने मौका पाएँ,’ उनले सुनाइन् ।


पहिले राईमा घुम्ने, रमाउने रहरले डेरा जमाएको थियो । त्यही रहरको फेरो समाएर सन् २००८ मा भोजपुरबाट पोखरा आइपुगेकी हुन् । पोखरा आइसकेर के गर्ने उनलाई थाहा थिएन । तर, डाँडाकाँडा उक्लदैं हिँड्ने इच्छाको गतिलो साथ भने थियो ।

‘पोखरा त आइयो के गर्ने भन्ने थाहै भएन । गाउँले आफन्त र नातागोता पर्ने सबै पर्यटन व्यवसायमै लागेका थिए । काम पनि पाइने घुम्न पनि पाइने मैले पनि त्यही काम गर्ने निधो गरेँ,’ राईले पोखरामा सुरुताका दिन सुनाइन् ।

जागिरे जीवन सुरु गरेपछि कैयौं पटक पर्यटकका भारी बोकर उचाइ चढिन्, ओरालो झरिन् । त्यसपछि त हो उनी चिनिएको ‘टुरिस्ट गाइड’ का रुपमा ।

तर, पथ प्रदर्शकमात्रै भने राईको पूर्ण परिचय होइन । उनी हाइअल्टिच्युड धावक पनि हुन् । उनले अहिलेसम्म अन्नपूर्ण म्याराथन, ट्रेल मास्टर र तेञ्जिङहिलारी एभरेष्ट म्याराथनमा दुई पटक भइसकेकी छिन् भने २०१७ मा भएको स्तुपा कप ट्रेल मास्टर जितिसकेकी छिन् । त्यतिबेला उनले १० किलोमिटर दूरी १ घण्टा १८ मिनेटमा पूरा गरेकी थिइन् । ‘त्यो दिन ठूलै पानी परेको थियो । दौडिन पनि एकदमै गाह्रो भइरहेको थियो,’ विजेता हुँदाको ‘त्यो दिन’ सम्झिइन् ।

२०१७ कै तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनमा उनले निर्धारित दूरी साढे ६ घण्टामा पूरा गरेकी थिइन् । हालै तेञ्जिङ हिलारी म्याराथनमा छैठौं भएकी थिइन् ।

‘रहरले आएँ, अब सपना बन्यो’

राई गाउँघरमा पनि कुद्थिन्, घरदेखि करेसा । करेसादेखि घर । तल्लो घरदेखि माथिल्लो घर । स्कुलदेखि घर, घरदेखि स्कुल । तर त्यो सामान्य थियो किनकी कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन लामालामा दूरीका म्याराथनमा दौडिन्छु ।

ट्रेकिङ एजेन्सीमा जागिर गर्दैगर्दा एउटा प्रतियोगितामा लहैलहैमा भाग लिइन् । रमाइलै भयो । प्रतियोगितामा भाग लिने धेरै थिए । उनी धेरैभन्दा पछि पनि परिन् । तर त्यही ‘रहर’ प्रतियोगिताले राईमा नयाँ सपनाको विजारोपण गरिदियो । पहिले उभिन सिकिन् आफ्नै जोडी खुट्टामा । त्यसपछि हिँड्न सिकिन् । हिँड्दाहिँड्दै कुद्ने रहरले लखेटयो, कुदिन् । तर त्यतिले पुगेन कुद्नुमा नै आफ्नो खुसी भेटिन् । त्यसपछि उनले आफैंलाई चिनिन्, ‘दौडनु त मेरो खुबी रहेछ ’

‘टे्रेकिङ गर्दागर्दै म्याराथनबारे सुनें । म्याराथन लामो दूरीको दौड हो भन्नेमात्रै थाहा थियो । त्यसमा कस्तो हुँदोरहेछ भनेर रहरले भाग लिएकी हुँ,’ राईले सुनाइन्, ‘पहिले रहरले छिरेपनि अहिले त धावक बन्ने सपना नै भइसक्यो ।’

पहिले सामान्य ट्रेकिङ गाइड भएरै जीवन गुजारा गर्ने राईको सपना थियो । तर, जब उनी ट्रयाक लगाएर ‘ट्रयाक’मा दौडिन थालिन् । त्यसपछि भने उनमा नयाँ ऊर्जा थपियो । भन्छिन्, ‘अब त राष्ट्रिय, अन्तराष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्दै दौड्ने सपना देखेकी छु । र त्यही अनुसार मेहेनत पनि गरिरहेकी छु ।’

सुरुमा हाइअल्टिच्युडमा दौड्दा गाह्रो भएको राईको अनुभव छ । ट्रेनिङ नलिएरै एक्कासी उचाइमा दौड्दा अप्ठेरो भएको उनले सुनाइन् । ‘सुरुमा त एकदमै गाह्रो भयो । ट्रेनिङबेगर हाइअल्टिच्युडमा कुद्नु भनेको ठट्टाजस्तो पनि होइन फेरि १’ भन्छिन्, ‘तर ट्रेनिङ लिएकालाई चाहिँ सजिलै हुन्छ भन्ने लाग्छ ।’

पटकपटक सुनेकी छिन्, मीरा राईको नाम । तर अहिलेसम्म भेटको अवसर जुरेको छैन । अबका ५ वर्षे योजना सुनाउँदै अनिताले भनिन्, ‘म्याराथन दौड्ने पहिले रहर थियो । तर अहिले ५ मीरा राईजस्तै बन्ने सपना बुनेकी छु ।’

दैनिक ट्रेकिङमा जानुपर्छ तर, त्यसैबाट समय मिलाएर दौडको अभ्यास गरिरहेकी हुन्छिन् । विकास राेकामगर/onlinekhabar.com

Leave A Reply

Your email address will not be published.