मुख्यमन्त्रीले कर्मचारीलाई भनेः जनता रुवाए पाप लाग्छ

0 92

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राय भाषणमा बोलिरहन्छन्, ‘संघीय सरकार र कर्मचारीतन्त्र नै संघीयताको खिलापमा देखियो ।’ संघीय सरकारको अवरोध र कर्मचारी तन्त्रको मानसिकताले काम गर्न नसकेको मुख्यमन्त्री गुरुङले प्राय भाषणमा छुटाउँदैनन् ।

उनै मुख्यमन्त्री गुरुङले अहिले प्रदेश मातहतका सबै कार्यालयका प्रमुखलाई पोखरा डाकेर निर्देशन दिएका छन्, ‘काम गर्ने पुरातन शैली बदलौं । ढिला सुस्ती गर्दै नगरौं । काममा तलमाथि नहोस् ।’

११ वटै जिल्लाबाट मातहतका कार्यालय प्रमुखलाई पोखरामा बोलाएर मुख्यमन्त्री गुरुङले प्रदेशको लक्ष्य प्राप्ति र संघीयता बलियो बनाउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

देशमा ठूला ठूला परिवर्तन भए पनि कर्मचारीको काम गर्ने शैली भने पुरानै भएको मुख्यमन्त्रीको भनाइ थियो । ‘हिजो जस्तो ढिलासुस्ती थियो, आज पनि उस्तै छ । कुनै चेन्ज छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रक्रिया र विधि भनेर पछाडि परेको देश हो नेपाल ।’

हिजो पश्चिमाञ्चल विकास क्षेत्रमा जस्तो शैलीले काम गरेर प्रदेशको विकास नहुने मुख्यमन्त्रीको भनाइ थियो । देशमा संघीयता आइसकेपछि मानसिकतामा पनि संघीयता कर्मचारीलाई मुख्यमन्त्रीले निर्देशन दिए ।

सरकारको नीति तथा कार्यक्रम र ३४ अर्बको बजेट कार्यान्वयन कर्मचारीको काम गराईमै भर पर्ने मुख्यमन्त्री गुरुङले बताए । ‘प्रधानमन्त्री, मुख्यमन्त्री, कर्मचारी सबैको टाउकोमा ऋणको भारी छ । ऋणको भारि बोकेर ठिक ढंगले काम नगरे के हुन्छ ?’ मुख्यमन्त्री गुरुङले प्रश्न गरे, ‘त्यसैले हाम्रो भगवान भनेको जनता हो । जनतालाई खुसी पार्नुस् ।’ उनले जनतालाई ऋणको भारी बोकाएर तलब लिएको नबिर्सन कर्मचारीलाई आग्रह गरे ।

जनता नै भगवान भएको बताउँदै मुख्यमन्त्री गुरुङले तिनै जनतालाई रुनी बनाए कर्मचारीलाई पाप लाग्ने बताए । सरकार–सरकारबीचको समन्वय गर्ने र सरकारका योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउने जिम्मेवारी पनि कर्मचारीकै भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.