सराङकोटमा यसरी ठडिँदैछन् शालिकहरु, रवीन्द्र अधिकारीको पनि उभिँदैछन्

0 57

युनिश गुरुङ
पोखरा /चोक चोकमा उभिएका छन् सालिकहरु । ती सालिक कुनै राष्ट्रिय विभूतिका हुन् भने कुनै सहिदका । ती चोक तिनै सालिकका नामले परिचित छन् । पृथ्वीचोक (लखन थापा) चोक, हरि चोक, वीपी चोक इत्यादी त्यसैका उदाहरण हुन् ।

अब पोखराका चोक चोकका सािलक एकैठाउँमा हुने भएका छन् ।


पोखरा १८ सराङकोट, जामुनबोटमा सहिद पार्क बनाएको छ । जामुनबोटमा अहिले ५६ रोपनी क्षेत्रफलमा पार्क तयार भइसकेको छ । पार्क बनाउन महानगरले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये प्रारम्भिक चरणको काम सक्न ४५ लाख रुपैयाँ खर्च भएको महानगरको भनाइ छ ।

पार्कको सबैभन्दा माथिल्लो भागमा पृथ्वीनारायण शाहको सालिक ठड्याइएको छ । शाहको अघिल्तिरबाट पोखरा बजार क्षेत्र, फेवातालदेखि अन्नपूर्ण हिमशृंखला नियाल्न सकिन्छ । शाहको सालिक ६ फिट ३ इन्च अग्लो पूर्ण कदमा ठडिएको छ ।

पार्कमा करिब २० वटा सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना बनाइरहेको स्वकीय सचिव तिमिल्सिनाले जानकारी दिए । ‘यही आर्थिक वर्षमा ३ वटा नभए कम्तिमा एउटा सालिक राख्ने गरी काम अघि बढिरहेको छ । अर्को आर्थिक वर्षदेखि सडकका बीचमा रहेका सबै सालिक पार्कमा व्यवस्थापन गरिसक्छौं,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पृष्पलाल, जनआन्दोलन ०६२÷०६३ का प्रथम शहिद भीमसेन दाहालको अर्धकदको सालिक पनि ठड्याइसकिएको छ । अब केही समयपछि दिवंगत पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सालिकसमेत राखिने पोखरा १८ का वडा सदस्य हरि लम्सालले जानकारी दिए ।


पार्कमा वीपी कोइराला, भीमसेन थापा, हरि गुरुङ, योगेन्द्रमान शेरचन, लखन थापालगायत २० वटा सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने महानगरको योजना छ । महानगरले पार्क पूर्ण रुपमा तयार भइसकेपछि सडक चोकका सबै सालिकलाई पार्कमा स्थानान्तरण गरेर सडक चौडा बनाउने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.