१३ औं साग: महिला फुटबल पनि अन्यौलमा

0 68

१३ औं दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने भनिएका ९ खेलमध्ये प्याराग्लाइडिङ नहुने निश्चितजस्तै भइसकेको छ । प्रतियोगिता हुन कम्तिमा ३ राष्ट्रले भाग लिनु पर्ने नियम छ । तर, प्याराग्लाइडिङमा भारत र नेपालबाहेक अर्को राष्ट्रले अहिलेसम्म भाग लिने छनक नल्याएकाले प्याराग्लाइडिङ नहुने निश्चितजस्तै भएको हो ।

प्याराग्लाइडिङबाहेक महिला फुटबल पनि अहिलेसम्म अन्योलको अवस्थामा छ । मैदानका लागि आवश्यक पर्ने पूर्वाधारको अहिलेसम्म पूरा नभइसकेको र आवश्यक सामान पोखरा नआइसकेकाले पनि महिला फुटबलबारे अन्योल छ । मैदानका लागि आवश्यक पर्ने दूबो, प्याराफिट लगायतका सामान भारतबाट अझै पोखरा आइसकेको छैन ।

खेल विज्ञका अनुसार नयाँ दूबो बिच्छ्याएको २ हप्तामा खेल्न सकिने भएपनि अहिलेसम्म दूबो नेपाल नआइसकेकाले महिला फुटबल हुनेमा शंका देखिएको हो । खेल आउन अब २ हप्ता नै बाँकी छ । अब हतारमा दुबो बिच्छ्याएपनि समयाभावका कारण खेलका लागि उपयुक्त भने हुने छैन ।


महिला फुटबल हुने मैदानका लागि अघिल्लो पटक कोलकत्ताबाट माटोसहित दुबो ल्याइएको थियो । तर, भारतीय क्वारेन्टाइनले भन्सारमा माटोसहित दुबो रोकिदिँदा १ हप्ता लागेको थियो । मैदानका लागि ल्याइएको ८७ हजार वर्गफिट क्षेत्रको दुबो नेपाल ल्याउन ढिलाइ भएका कारण आधाभन्दा बढी उम्रिएन । अहिले कम्पनीले १२ हजार वर्गफिट दुबो मगाइएको छ ।

दोस्रो पटकका लागि मगाइएको दुबो गत आइतबार निर्माण पक्षले बुधबारसम्म पोखरा आइपुग्ने दाबी गरेका थिए । तर, सो दुबो शनिबारसम्म नेपाल नआउँदा महिला फुटबल मैदानको तयारी सुस्त भएको छ ।

तर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा भने प्याराग्लाइडिङ र महिला फुटबलसहित ९ वटै खेल हुनेमा दाबी गरेका छन् । उनी भन्छन्, ‘महिला फुटबलको दुबोका लागि केही चुनौति देखें । तर, दुबो नेपाल आइसकेपछि मैदानमा फेर्नलाई कुनै समस्या हुनेछैन ।’
१३ औं साग क्षेत्रीय प्रचारप्रसार तथा प्रकाशन समितिले शनिबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री विश्वकर्माले साग नेपालको साखसँग जोडिएकाले सबै खेल हुने दाबी गरेका हुन् । ‘१३ औं साग नेपालले तेस्रो पटक आयोजना गर्ने अवसर पाएको छ । त्यसैले यो नेपाल र नेपालीको प्रतिष्ठा, इज्जतसँग पनि जोडिएकाले पूर्वाधारमा कुनै कमी हुँदैन ।’

२ वर्ष अघि नै सकिसक्नुपर्ने १३ औं साग तत्कालीन समयमा विनाशकारी भूकम्पका कारण रोकिएको मन्त्री विश्वकर्माले सुनाए । ‘भूकम्पले भएका पूर्वाधार पनि क्षति पु¥याएको थियो । सोही कारण नयाँ पूर्वाधार बनाएर साग आयोजना गर्नु हामीलाई चुनौति थियो,’ उनले भने, ‘पुराना पूर्वाधारमा काम गर्नु र नयाँ पूर्वाधार बनाएर काम गर्नु पक्कै पनि चुनौतिपूर्ण हुन्छ ।’

मन्त्री विश्वकर्माले पोखरा रंगशालाका लागि आवश्यक ग्रान्ड स्ट्यान्ड प्याराफिट सोमबारसम्म पोखरा आइपुग्ने निर्माण कम्पनीले प्रतिबद्धता गरेको जनाए । उनले भने, ‘सोमबारसम्म पोखरा प्याराफिट लगायतका सबै सामान आइपुग्छ । त्यो जोड्न ४÷५ दिन लाग्छ ।’ उनले बाँकी रहेका पूर्वाधार निर्माणसमेत मंसिरको पहिलो साता नै सबै तयार भइसक्ने बताए ।

१३ औं साग अन्तर्गत पोखरामा ९, जनकपुरमा १ र काठमाडौंमा १३ खेल हुने तय छ । साग खेल हुने रंगशालामध्ये पोखरामा महिला फुटबल मैदानमा दुबो रोप्ने÷फेर्ने, दशरथ रंगशालामा भीआईपी प्याराफिट जडान र सातदोबाटोमा हिटिङ स्विमिङ पुल तयार हुनमात्रै बाँकी रहेको र १ हप्ताभित्रै पूरा भइसक्ने मन्त्री विश्वकर्माको दाबी छ ।

 

Leave A Reply

Your email address will not be published.