कांग्रेस उम्मेदवार खेमराज भन्छन्ः कांग्रेस एक भयो, लालकिल्ला तोड्छु

खेमराजप्रति कांग्रेसभित्र सबैको सहानुभूति

0 53

डिआइजी नारायण सिंह काण्ड नेपाली इतिहासमा चर्चित छ । २०२४ सालमा नाचघरमा नाटक प्रदर्शन भइरहेका बेला डिआइजी नारायण सिंहले छात्राहरुमाथि अभद्र व्यवहार गरे । त्यसका विरुद्ध ठूलो आन्दोलन भयो । विद्यार्थीहरुले आन्दोलन चर्काए । त्यो आन्दोलन चर्काउने विद्यार्थीमध्ये एक थिए, खेमराज पौडेल ।

कास्की पुम्दीभुम्दीबाट बुथ कमिटी सदस्य बनेर पौडेलले नेपाली कांग्रेसको राजनीति थालेको अर्को वर्षमा देशमा पञ्चायत सुरु भयो । पञ्चायत सुरु भएपछि संस्कृत साहित्य पढ्नका लागि बनारस पुगे । यता सुवर्णशमशेरको नेतृत्वको पञ्चायतविरुद्ध भण्डाफोर सुरु भयो । वनारस पढ्न पुगेका पौडेल २०१८ सालमा प्रजातान्त्रिक विद्यार्थी समितिको संस्थापक बने ।

सुवर्णशमशेरले थालेको पञ्चायतविरोधी आन्दोलनमा वनारसबाटै पौडेल सहभागी बने । वनारसबाटै डिआइजी नारायण सिंह काण्डका विरुद्ध आन्दोलनमा सहभागी हुन पौडेल नेपाल आएका थिए । वुटवलदेखि गोरखासम्म आन्दोलनकै मोर्चा लिएर पौडेल हिँडे ।

पञ्चायतको अघिल्लो सालदेखि नै नेपाली कांग्रेसको राजनीतिक यात्रामा निरन्तर लडेका प्रजातान्त्रिक आन्दोलनका अगुवा हुन्, पौडेल । कठिन र जटिल अवस्थामा पनि पार्टीमा निरन्तर लागेका र कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ दिएका पौडेल कांग्रेसभित्र ‘अभागी नेता’ मानिन्छन् । किनकि उनले जीवन नै कांग्रेस राजनीतिमा लगाए तर ठूलो पद लाभ र सांसदको टिकट कहिल्यै पाएनन् । देउवासँग २०२५ सालमा देउवासँग खेमराजको चिनजान भएर राजनीतिक आन्दोलनमा समसाथै होकिएका थिए ।

२००१ सालमा जन्मेका र ६० वर्ष कांग्रेस राजनीतिमा लागेका उनै ‘अभागी नेता’ पौडेललाई यसपटक भने पार्टी सभापति शेरबहादुर देउवा कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारको रुपमा घरदैलोमा छन् । पौडेलले शेरबहादुरसँग नजिक भएर पनि यसअघि टिकट पाएनन् । तर, यसपटक टिकट दिएपछि नेता पौडेल भन्छन्, ‘पार्टीले ढिलै भए पनि मूल्यांकन ग¥यो ।’

शेरबहादुरसँग विद्यार्थी आन्दोलनमा लागेका पौडेलले कठिन अवस्थामा पनि उनलाई साथ दिए । शेरबहादुरले पार्टी फुटाएर प्राजातान्त्रिक कांग्रेस बनाउँदा पौडेलले नै कास्कीको नेतृत्व गरेका थिए । पौडेल निष्ठावान र कटिवद्ध नेताका रुपमा चिनिन्छन् ।

नेपाली कांग्रेस कास्कीमा उनी अधिकांश नेताका ‘खेमराज दाइ’ हुन् भने पछिल्लो पुस्ताका नेताको ‘खेम गुरु’ । खेमले टिकट पाएपछि कास्कीका नेता तथा कार्यकर्तासमेत खुसी भएर चुनावी घरदैलोमा छन् । पूर्व सांसद तथा कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा भन्छन्, ‘खेमराज दाइले पहिले नै टिकट पाउनु पर्ने हो । उहाँजस्तो निष्ठावान मान्छे कमै छन् । तर पार्टीले ढिलै भए पनि टिकट दियो । उहाँले जित्नु पनि हुन्छ ।’

शेरबहादुरको नेतृत्वमा पार्टी फुट्नुअघि पनि तारानाथ रानाभाट सभापति हुँदा उनी उपसभापति थिए । पञ्चायतपछि २०३६ सालमा कास्की जिल्ला कमिटी गठन भयो । जिल्ला कमिटीको अध्यक्ष धीरबहादुर गुरुङ हुँदा पौडेल सदस्य भनेर जिल्लाको राजनीतिमा लागेका थिए ।
निरन्तर राजनीतिमा लागे तर कांग्रेस केन्द्रीय कमिटीको आमन्त्रित सदस्यभन्दा माथि पुगेनन् । तर, निरन्तर जिल्लाको राजनीतिको केन्द्रमै रहन्छन्, पौडेल ।

उनी वितृत्त शिक्षक हुन् । वनारसबाट संस्कृत र साहित्यमा डिग्री गरेर फर्किएका पौडेलले शिक्षणसँगै राजनीति गरे । २० वर्ष शिक्षण पेशा गरेर फेरि राजनीतिकै होलटाइमरजस्तै बनेका पौडेलले कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा सहभागी बने । पौडेल पञ्चायतदेखि हरेक आन्दोलनमा सहभागीमात्रै बनेनन्, जेलनेल पनि खाए ।

नेकपाको लालकिल्ला तोड्छुः पौडेल

टिकट पाएर घरदैलोमा व्यस्त खेमराजले नेपाल कम्युनिस्ट पार्टीको लाल किल्ला तोड्ने बताएका छन् । यो क्षेत्रबाट रवीन्द्र अधिकारीले ह्याट्रिक मारेका थिए । पर्यटन मन्त्री हुँदा दुर्घटनामा उनको मृत्यु भएपछि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

पौडेललाई चुनाव जितेर इतिहार रच्ने अवसर त छ तर सजिलो छैन । नेकपाले लगातार जितेको यो क्षेत्रमा रवीन्द्रको उत्तराधिकारी बन्न उनकै पत्नी विद्या भट्टराई चुनावी मैदानमा छिन् । एक त विद्या अहिलेको बलियो पार्टीकी उम्मेदवार हुन् भने अर्कोतिर उनको राजनीतिक लिगेसी र एकखालको संवेदना पनि उनीमाथि छ । अरु राजनीतिक दलले पनि आक्रामक प्रचार गरिरहेका छन् ।

लोकप्रिय नेताका रुपमा चिनिएका रवीन्द्रको सपना र योजना पूरा गर्न विद्यालाई उम्मेदवार बनाएको नेकपा बताउँछ । तर, विद्यालाई उठाउँदा जित्न सजिलो हुने भएकै कारण नेकपाले विद्यालाई उम्मेदवार बनाएको छ ।
पौडेल भने नेकपाले भन्ने गरेको ‘लाल किल्ला’ तोड्न चाहन्छन् । खेमराज भन्छन्, ‘पार्टीले मूल्यांकन गरेर टिकट दिएको छ । म जितेर देखाइदिन्छु । म नेकपाको लाल किल्ला तोड्छु ।’

खेमराजप्रति कांग्रेसभित्र सबैको सहानुभूति

नेपाली कांग्रेसभित्र हरेक चुनावमा यस्तो अन्तरविरोध भइदिन्छ, जसका कारण जीत अर्काकै भइदिन्छ । धेरै जनाको आकांक्षा र उम्मेदवारी हने अनि एउटाले टिकट पाएपछि गुटअनुसार घात प्रतिघात हुने कांग्रेसको पुरानै रोग हो । तर, यसपटक भने खेमराजले टिकट पाएसँगै कांग्रेस भित्रको प्रतिघातको रोग झ्याँगिने छैन । किनकि लामो समय पार्टीलाई योगदान गरेका, कुनै पनि लाभ नलिएका र निष्ठावानको छवि बनाएका पाका नेता खेमराजप्रति पार्टीभित्र सबैको सहानुभूती छ ।

‘उहाँको उम्मेदवारीले बीचमा कांग्रेसभित्र देखिएका खटपटको अन्त्य गर्दै एक बनाएको छ,’ कास्की कांग्रेस सभापति कृष्ण केसीले भने, ‘कांग्रेसकोमात्रै होइन, उहाँप्रति अन्य पार्टीमा आवद्ध र कुनै पनि पार्टीमा नलाएका व्यक्तिको पनि सहानुभूति रहन्छ ।’

यसपटक पनि टिकटका लागि १६ जना आकांक्षी थिए । ती सबैको नाम केन्द्रीय कमिटीमा पुगेको थियो । मनोनयन दर्ताको अघिल्लो दिन दिउँसोसम्म को उम्मेदवार बन्छ भन्ने टुंगो थिएन । जब खेमराजले टिकट पाए, नेपाली कांग्रेस उत्साहका साथ घरदैलोमा छ ।

Leave A Reply

Your email address will not be published.