फिर्के खोलाको मापदण्ड घटाउने प्रलोभनमा स्वतन्त्र उम्मेदवारलाई फकाइयो

स्वतन्त्र उम्मेदवार भन्छन्ः म सफल भएँ, चुनावी प्रचार गर्दिन

0 47

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको सारगर्मी बढेसँगै राजनीतिक दलले चुनावी हद्कण्डा अपनाउन थालेका छन् । एक उम्मेदवारलाई आफ्नो पक्षमा पार्न खोलाको मापदण्ड घटाउने सहमति गरिएको घटना सार्वजनिक भएको छ ।

फिर्के खोलाको मापदण्ड घटाउने आश्वास देखाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोखरा महानगरपालिकासमेतको संलग्नतामा स्वतन्त्र उम्मेदवार सुनीलबहादुर कोइरालालाई आफ्नो पक्षमा ल्याएको हो ।

नेकपाका नेता, संघीय सांसद खगराज अधिकारीदेखि कास्की क्षेत्र नम्बर २ की उम्मेदवार विद्या भट्टराईलाई जिताउने मोर्चाका कमाण्डर राजकाजी गुरुङसम्मको रोहबरमा स्वतन्त्र उम्मेदवार कोइरालालाई फकाइएको छ । सुनीलको फिर्के खोलाको मापदण्डभित्र घर, जग्ग तथा संरचना छन् । फिर्के खोलाको मापदण्डभित्र २ सयभन्दा बढी घर छन् । सुनीलले ती घरहरुको पनि भोट पाउन सक्थे । परिवारिक रुपमा बढी नेकपाप्रति नै समर्थिन सुनीलको टेबल चुनाव चिह्न थियो ।


पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका खगराजले कोइरालालाई फिर्केको मापदण्ड घटाउने आश्वासन देखाउँदै वार्ताको सहजीकरण गरेका थिए । पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्मा, फिर्के खोला संरक्षण तथा मापदण्ड समिति, नागरिक समाजका प्रतिनिधिसहितले हस्ताक्षर गरी फिर्केको मापदण्डलाई १ मिटरमा झार्ने सहमति गराएका थिए ।

पछि नेता खगराजले मेयरलाई भनेर कार्यपालिकाबाटै निर्णय नै गराउने ग्यारेन्टी दिन नसक्ने बताएपछि फेरि छलफल बिच्किएको थियो । वडा नम्बर ५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीको समन्वयमा विद्या जिताउने अभियानका कमाण्डर तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङसमेतको उपस्थितिमा मंगलबार फेरि स्वतन्त्र उम्मेदवार सुनीलसँग बैठक बसेको थियो ।

ठाउँ हेरी १० मिटर र ६ मिटर रहेको फिर्के खोलाको मापदण्ड घटाएर १ मिटर कायम गर्न अबको कार्यपालिका बैठकमा प्रस्ताव पेश गर्ने सहमति भएको छ । अधिवक्तासहित बसेको मंगलबारको बैठकमा ४ बुँदे सहमति भएको छ ।


सहमतिमा फिर्केको मापदण्ड १ मिटर कायम गर्न नेकपाले राजनीतिक हिसाबले र महानगरपालिकाले कार्यपालिकाबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउने, मापदण्डभित्र रहेको जग्गा धोतो राखेर ऋण निकाल्न महानगरले सिफारिस गर्ने, फिर्केलाई सौन्दर्यीकरण गर्ने र पुरानै लयमा हिँडाउने लगायत सहमति भएको छ ।

बैठकमा राजकाजीसँगै अर्का नेता दामोदर बैरागी, फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका अध्यक्ष नारायणबिक्रम शाही लगायतले सहमति गरेका छन् ।

फिर्के खोलाको मापदण्ड घटाउन राजनीतिक तथा नीतिगत हिसाबले सहमत भएपछि आफू एक हिसाबले सफल भएको स्वतन्त्र उम्मेदवार सुनीलले बताए । सुनीलले नेकपा समर्थितको भोट काट्ने गरी केही दिन घरदैलोसमेत गरेका थिए ।

‘सुरुमा मापदण्ड घटाउने ग्यारेन्टी नभएपछि मंगलबार फेरि बैठक बस्यौं । अधिवक्तासहित बसेको बैठकले मापदण्ड घटाउने प्रक्रिया थाल्नेलगायतका निर्णय गरेपछि म पछि हटें,’ स्वतन्त्र उम्मेदवार सुनीलले भने, ‘एक हिसाबले मेरो उम्मेदवारी उपलब्धीपूर्ण नै रह्यो । अब म प्रचार गरेर हिँड्दिन जति मत आउँछ, आउँछ ।’

यो त्यही फिर्के हो, जहाँ सौन्दर्यीकरण गर्न पोखरा महानगरले अभियान नै थालेको थियो । अभियानको उद्घाटनमा असाबधानीबस मेयरले डोजर चलाउँदा केही घाइते भएका थिए ।

पछि फिर्के खोलाको मापदण्डभित्र पर्ने सरोकारवालाले उच्च अदालत पोखरामा रिट हालेका थिए । त्यससँगै फिर्केको सौन्दर्यीकरणको काम रोकिएको थियो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बैठक र सहमतिमा आफू संलग्न नभएको बताउँदै त्यस्ता कुनै पनि निर्णय कार्यपालिकामा नजाने बताए । ‘त्यो पूरै क्यान्सिल गरिदिएको हो । मैले पनि थाहा पाएँ, त्यो होइन है भनिसकेका छौं,’ मेयर जिसीले भने ।
हस्ताक्षर गरे पनि त्यो मान्य नहुने बताएको वरिष्ठ कानुन अधिकृत शर्माले बताए । ‘छलफलमा म पुगेको हुँ र हस्ताक्षर पनि गरें तर म कर्मचारी भएकाले यस्तो राजनीतिक कुरामा सहमत हुन नसक्ने पनि भनेको थिएँ । मैले त्यसलाई खारेज गर्न पनि भनें,’ शर्माले भने, ‘जुन सहमतिको कागज बाहिर आएको छ । त्यसमा मेरो समर्थन छैन ।’

यसअघि पनि फिर्के खोलामाथि राजनीति चल्दै आएको छ । कहिले यसको मापदण्ड १० मिटर त कहिले ५ मिटर भनेर महानगरले योजना पनि ल्याएको थियो । फिर्के खोलाको मापदण्डमा ५ मिटर रेखांकन गरी फुटट््याक् निर्माण गर्ने महानगरको योजना अहिले पनि योजनामै सीमित छ ।

Leave A Reply

Your email address will not be published.