१३ औं सागमा प्याराग्लाइडिङ नहुने निश्चित

दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करणमा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ । प्रतियोगिताका लागि बुधबारसम्म अन्तिम समय तोकिएको थियो । तर, अन्तिम समयसम्म नेपाल र पाकिस्तानबाहेक तेस्रो राष्ट्र सहभागी नहुने भएपछि प्रतियोगिता नहुने भएको हो ।

नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले अन्तिम समयसम्म तेस्रो राष्ट्रले खेलाडी दर्ता नगरेपछि प्रतियोगिता नहुने भएको जानकारी दिए । ‘पाकिस्तानबाट पनि जम्मा २ जना खेलाडीकोमात्रै नाम दर्ता भएको छ । तर, प्रतियोगितामा भाग लिन ५ पुरुष र ३ महिला अनिवार्य हुनुपर्छ,’ उनले भने, ‘दर्ता भएको राष्ट्रले पनि खेलाडी संख्या नपु¥याएकाले खेल नहुने भएको हो ।’ सागको नियम अनुसार प्रतियोगिता हुन कम्तीमा ३ राष्ट्र सहभागी हुनुपर्छ ।

प्रतियोगिता सराङकोटको तोरीपानीमा सञ्चालन गर्ने तय थियो । तर, सहभागी राष्ट्र अपुग भएकाले प्रतियोगिता स्थगित हुने भएको हो । ‘आज (बुधबार)सम्म खेलाडी दर्ताका लागि समय तोकिएको थियोे । अहिलेसम्म सहभागी राष्ट्रको संख्या नपुगेपछि प्रतियोगिता नहुने निश्चित भयो,’ रावतले भने, ‘तर, ओलम्पिक कमिटीले अहिलेसम्म प्रतियोगिता नहुनेबारे हामीलाई कुनै जानकारी भने दिएको छैन ।’

तपाईको प्रतिक्रिया

Your email address will not be published.