सपना नेताको होइन जनताको पूरा हुनुपर्छः उम्मेदवार धर्मराज

समाजवादीकाे घरदैलाे तीव्र

0 163

पोखरा, ६ कात्तिक
चुनाव जित्ने उद्घोष गर्दै घरदैलोमा निस्किएको समाजवादी पार्टीले शुक्रबार पोखरा–७ मा चुनावी प्रचार गरेको छ । घरदैलोमा पुगेका धर्मराजलाई प्रतिवद्ध भएर जनताको सेवा गर्ने अवसर दिलाउने शुभकामना दिएका छन् ।


मतदाताको शुभकामनापछि घरदैलोमा पुगेका धर्मराजले सपना आफ्नो होइन जनताको पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । ‘आज म समाजवादीको उम्मेदवार बनेर घरघर आइरहेको छु । भोट माग्न आइरहँदा यो होइन कि मैले सांसद भएर आफ्नो सपना पूरा गर्छु,’ गुरुङले भने, ‘सपना नेताको होइन जनताको पूरा गर्नुपर्छ भन्ने प्रतिवद्धतासहित चुनावी मैदानमा होमिएको हुँ ।’

यसअघि सांसद भएर गएकाहरुले जनताको सपना होइन, आफ्नो सपना पूरा गर्नेतिर लागेकाले देशले आर्थिक तथा भौतिक विकासको फड्को मार्न नसकेको गुरुङको भनाइ थियो । शिक्षा, स्वाथ्य,यातायात जस्ता आधारभूत आवश्यकता पनि जनताको सहज पहुँचमा अहिलेसम्म आउन नसकेको गुरुङले बताए ।

‘शिक्षा, स्वाथ्य, खानेपानी, यातायातजस्ता आधारभूत आवश्यकता पूरा गर्न सामान्य जनतालाई गाह्रो पर्ने स्थिति कसरी आयो ? महंगो शुल्क र अव्यवस्थाले जनताको पहुँच बाहिर गयो,’ इन्जिनियर गुरुङले भने, ‘किनकी ती ठाउँमा ब्यापारी, मन्त्री र सांसदका मान्छेले कब्जा जमाइरहेका छन् ।’


देशमा पटक पटक व्यवस्था फेरिए पनि जनताको हैसियत जहाँको तहीँ रहेको र नेताको अवस्थामात्रै बदलिएको गुरुङको भनाइ थियो । गरिब, दलित, श्रमिक र किसानका पक्षमा सरकारले काम गर्न नसकेको गुरुङले बताए । नेकपा सरकारका कारण अखण्डता, संघीयता, समावेसिता र धर्म निरपेक्षतामाथि नै प्रहार भइरहेको गुरुङले बताए ।

सांसददेखि मन्त्रिसम्म पैसा र स्वार्थको चक्रब्यूहमा फस्ने र सरकारले छिमेकीसामु शीर ठाडो गरेर बोल्न नसक्दा देशकै शीर झकेको गुरुङको भनाइ थियो । ‘छिमेकीले कालापानीमाथि कब्जा जमाइसक्यो । नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवाद गर्ने र तत्काल वार्ता गरेर वास्तविकता बाहिर ल्याउन सक्दैनन् ,’ गुरुङले भने, ‘प्रधानमन्त्री गरेनन्, बरु अब समाजवादी पार्टी र हामीजस्ता हिजोका गोर्खा सैनिक जान तयार छौं ।’

राज्यको सम्पत्ति सीमादेखि सार्वजनिक जग्गा र खोलासम्म दोहन गर्ने काम नेकपाले गरेको र सरकारले त्यसको संरक्षण गरिरहेको गुरुङको आरोप छ । सरकारले जनतामुखी नीति ल्याउन नसकेको र संविधानबिपरीत काम गर्नेलाई पनि कारबाही गर्न नसक्दा सबै राजनीतिक दलप्रति बितृष्ण बढिरहेको गुरुङले बताए ।

बलात्कार, भ्रष्टाचार, अनियमिता र कुशासनले देशलाई आक्रान्त पारिरहेका बेला सरकारले दोषीलाई कारबाही गरेर जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने काममा सरकार चुकेको गुरुङको भनाइ थियो ।


घारिपाटन, चोरसाँघु, मुस्ताङचोक, मासबार, रत्नचोक लगायतका ठाउँमा घरदैलो गर्दै पुगेका इन्जिनियर धर्मराजले देशलाई निस्वार्थी र इमान्दार नेताको आवश्यकता रहेको बताए । ‘म भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्छु । म कुशासनमाथि जनताका प्रतिनिधिका हिसाबले धाबा बोल्ने छु,’ गुरुङले भने, ‘मलाई सांसद बनेर पैसा कमाउनु छैन । सच्चा मनले जनताको सेवा गर्नु छ ।’ चुनावमा ठूला आश्वास लिएर होइन जनताको भावना बुझेर काम गर्नका निम्ति घरदैलोमा आएको गुरुङको भनाइ थियो । संवेदना, प्रलोभन र आश्वासनका पछि नलागी निस्वार्थी व्यक्तिलाई मतदान गर्न गुरुङले आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.