विद्यालाई सुकुम्वासीको वचनः मन बदल्दैनौं

0 43

पोखरा–९ मा घरदैलो गर्दै पुगेकी नेकपा उम्मेदवार विद्या भट्टराईले सुकुम्वासी मतदाताले मत र मन नबदल्ने बताएका छन् । तुलसीघाँट, शान्तिवन, पृथ्वीचोक वरपरका सहाराटोल, शिवटोल, शुभकामना टोल, पार्वती टोल, गणतान्त्रिक टोल, कृष्ण टोल यहीं वडामा पर्छन् । क्षेत्र नम्बर २ को उपनिर्वाचनमा यी बस्तीबाट झण्डै २ हजार मतदाताले भोट हाल्दै छन् । गएको चुनावमा उनीहरुले तीनपल्ट रवीन्द्र अधिकारीलाई जिताएका सुकुम्वासीले यसपटक पनि आफ्नो मन र मत नबदल्ने उनीहरु बताउँछन् ।

शुभकामना टोलका आशबहादुर विक अघिल्लोपल्ट जस्तै यसपल्टको चुनाव सुकुम्बासीका मतदातालाई कुनै प्रलोभनले नलोभ्याउने दाबी गर्छन् । ‘बाहिर हल्ला चलेजस्तो सुकुम्बासीहरु पैसामा विक्दैनन,’ उनी भन्छन्, ‘कसलाई जिताउने भन्ने हाम्रो मनमै छ ।’
गणतान्त्रिक टोलकी यमुना गुरुङको नेकपा नै सुकुम्बासीलाई बुझ्ने एकमात्र पार्टी भएको उनको ठम्याइ छ । ‘हाम्रो मनमा विद्या बसिसकेकी छन्,’ उनले भनिन् ।

२०७४ मा भएको चुनावमा आर्थिक चलखेल हुन नदिन बसपार्क छेवैको पार्वती टोलमा स्थानीयले गस्ती नै गरे । तत्कालीन कांग्रेसका उम्मेदवारले सुकुम्बासी बस्तीमा पैसा बाँड्न लागेको सुइको पाएपछि उनीहरुले गस्ती गरेका थिए । शिव टोलका कृष्ण पाण्डे यसपल्ट पनि कुनै चलखेल हुन नदिने बताउँछन् । ‘अहिले पैसा बाँड्नेले भोलि चुनाव जितेर गएपछि त्यहीं पैसा उठाउनतिर लाग्छन्,’ उनी भन्छन्, ‘रवीन्द्रको इमान्दारिता विद्या भट्टराईमा पनि झल्किन्छ ।’

सहाराटोलकी कमला विक सुकुम्बासीको एकमात्र आशा नेकपा नै भएको सुनाइन् । उनले मुलुकमा स्थायीसरकारमार्फत समृद्धि हासिल गर्न नेकपाको विकल्प नभएको उल्लेख गरिन् । पोखरा बसपार्कको छेउछाउमा ०३६ सालदेखि सुकुम्बासी बस्न थालेका हुन् ।

बसपार्क वरपरका शिव टोल, पार्वती टोल, कृष्ण टोल, गणतान्त्रिक टोल र शुभकामना टोलमा ७ सय घर सुकुम्बासी छन् । यो टोलमा मात्रै करिब १ हजार ५ सय मतदाता छन् । बसपार्क विस्तारका लागि त्यहाँका सुकुम्बासीलाई हटाउने प्रसंग बारम्बार चलिरहन्छ ।

प्रत्येक चुनावमा टोलबासीले उम्मेदवारसँग लालपुर्जाकै मुद्दा उठाउँछन् । तर उनीहरुको माग भने हालसम्म सम्बोधन हुन सकेको छैन । ‘हाम्रो मुख्य माग नै लालपूर्जा हो,’ शान्तिवनका आइतमान गुरुङ भन्छन्, ‘यो माग नेकपाबाहेक अरुले पूरा गर्छन् जस्तो लाग्दैन ।’

९ नम्बर वडामा नेकपाको चुनावी मोर्चा सम्हालेकी गण्डकी प्रदेश सांसद प्रभा कोइराला सुकुम्बासी व्यवस्थित गर्ने नेतृत्व आफ्नो पार्टीले गर्ने बताउँछिन् । ‘मुलुकमा कोही पनि भूमिहिन हुनुहुँदैन भन्नेमा हामी स्पस्ट छौं,’ उनी भन्छिन् । बसपार्क पनि बनाउने र सुकुम्बासीलाई पनि व्यवस्थित गर्ने योजना नेकपाको रहेको उनले जनाइन् ।

Leave A Reply

Your email address will not be published.