सहकारी लेखापालले नै यसरी लुटिन् १८ लाख

काठमाडौं । काठमाडौंको कोटेश्वर–३२ सहयोगीनगरस्थित सौभाग्यशाली सहकारी लुटियो । माघ २५ मा साँझ ५ बजेतिर सहकारी लुटिएको कुरा त्यहाँका कर्मचारी र सञ्चालक समितिले चाहिँ भोलिपल्ट बिहान मात्रै थाहा पाए । सहकारीमा एकजना ऋणीले माघ २५ मा कार्यालय समय सकिन लाग्दा बुझाएको १० लाख र बजारबाट संकलन गरेको करिब ८ लाख रकम थियो । सहकारीको ढोका खोलेर १७ लाख ८५ हजार चोरी भयो ।

लुटमा सो सहकारीमा काम गर्ने लेखापाल सावित्री सुवेदी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रारम्भिक अनुसन्धानबाट सुवेदीको हात रहेको देखिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले रातोपाटीलाई बताए । ‘चोरीमा संलग्न रहेको आशंकामा लेखापाल सावित्री सुवेदीलाई पक्राउ गरेका छौं’ प्रहरी उपरीक्षक बस्नेतले भने–‘थप अनुसन्धान गर्दैछौं ।’

माघ २६ मा बिहान कर्मचारी पुग्दा सहकारीको ढोका खुल्लै थियो । काउन्टरमा राखेको १७ लाख ८५ हजार गायब थियो । सहकारी सञ्चालकले तत्काल प्रहरीलाई खबर गरे । बानेश्वर वृत्त र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरे । अनुसन्धान गर्दै जाँदा लेखापाल नै लुटमा संलग्न रहेको खुल्यो ।

सावित्री सुवेदीका दम्पतीले ठिमीमा घर बनाइरहेका छन् । नेपाली सेनाबाट अवकाश पाएका उनका श्रीमानले सो सहकारीबाट ऋण लिएका थिए । त्यहि दिन उनले ऋण तिरे । साढे ४ मा सावित्रीका श्रीमान सहकारीमा पुगेर १० लाख बुझाए । तर, उनले सो रकम बैंकबाट साढे १ मा नै निकालेको अनुसन्धानबाट खुलेको छ ।

‘कार्यालय समयको अन्तमा बुझाएको हुनाले सहकारीले सो पैसा बैंकमा राख्न भ्याएको थिएन’अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने–‘अनि, कर्मचारी हिँडेपछि सावित्रीले डुब्लिकेट चाबीले खोलेर पैसा निकालेर हिँडेको थाहा भएको छ ।’

तपाईको प्रतिक्रिया

Your email address will not be published.