मोहवविक्रम, बाबुराम छोडें, प्रचण्डको नि काम छैनः टाेपबहादुर

२८ फागुन, पोखरा-
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले माओवादी नफर्किने जिकीर गर्दै बरु एमालेमा माधव नेपाल समूहलाई स्वागत गर्ने बताएका छन् । आफ्नो सांसद पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने रायमाझीले बताएका छन् ।
रायमाझीले पद जोगाउन माओवादी केन्द्रमा नफर्किने बताएका हुन् । ‘सांसद पद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ,’ रायमाझीले भने । बरु प्रचण्डसँग लागेर एमालेमै फर्किएका नेतालाई ओलीसँग काम गर्नैपर्ने बाध्यता रहेको बताउँदै रायमाझीले मन नबिगारी फर्कन माधव समूहलाई आग्रह गरे ।

‘जो साथीले मन बिगार्नुभएको छ, मन बिगार्न पर्ने जरुरी छैन । खुसीका साथ समावेश हुनू । हामी त भइराछौँ भने अरु भइराखेका साथीलाई के गाह्रो छ ? हामी खुसी छौँ,’ रायमाझीले भने, ‘बाटो बिराएका, मन बिगारेका साथीहरूलाई हार्दिकतापूर्वक स्वागत गरौँ ।’

रायमाझीले १८ वर्ष मोहनविक्रम सिंहसँग काम गरेको स्मरण गर्दै उनीसँग पनि अन्तर्विरोध भएको रायमाझीको भनाइ थियो । ‘जनपक्षीय कार्यक्रम, जनतालाई समेट्ने विचार र राजनीतिक योजना भएन भने के हुनु ?,’ रायमाझीले भने, ‘जतिसुकै त्याग गरे पनि, इतिहास भए पनि, योग्यता क्षमता भए पनि, अहिले म मोहनविक्रमजीको पार्टीमा भएको भए के हालत हुन्थ्यो होला ?,’

जनयुद्धमा बाबुराम भट्टराईमाथि प्रशार हुँदा पनि टिकाएर राखेको तर शान्ति प्रक्रियापछि उनमा पनि विचलन आएको रायमाझीले बताए । ‘बाबुरामजी असाध्यै विद्वान मान्छे, ज्ञान र क्षमता भएको मान्छे, बाहिर परिचित, हाइप्रोफाइलबाट आएको मान्छे,’ रायमाझीले भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि, संविधान बनिसकेपछि बाबुरामजीमा फेरि विचलन आएछ । जतिसुकै विद्वान भए पनि विचलन नहुनुस् है भन्दा मान्नुभएन । उहाँलाई भ्रम प¥यो । बाबुरामजीसँग अब भविष्य छैन भनेर छोडदिएँ । अहिले बाबुरामजी हिमाल, पहाड हुँदै तराई पुग्नुभो ।’

अब प्रचण्डको पनि काम छैन भनेर मनस्थिति बनाएर बसेको रायमाझीले बताए । एकता गरेपछि जो–जो पौडी खेल्न सिक्छ पार गर्छ र जो–जो डुब्छडुब्छ भनेर एकता गरेको भन्दै केही साथीहरु डुबेको रायमाझीले व्यंग्य गरे ।

तपाईको प्रतिक्रिया

Your email address will not be published.